राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा आयोजित ‘एनडीटिभी वर्ल्ड समिट’ मा "भारतविरोधी भावना नै नेपालको राष्ट्रवाद हो भन्ने पुरानो धारणा र युग अब समाप्त भयो" भनी दिएको अभिव्यक्तिले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य देशसँग भन्दा विशिष्ट र गहिरो रहेको उल्लेख गर्दै उनले यस्तो धारणा राखेका थिए।
तर, सीमा अतिक्रमण, डुबान र विगतका नाकाबन्दीजस्ता संवेदनशील राष्ट्रिय सरोकारहरू जीवितै रहेका बेला विदेशी भूमिबाट आएको यस्तो विचारलाई राष्ट्रिय स्वाभिमान र स्वार्थको अवमूल्यनका रूपमा हेरिएको छ।
यस अभिव्यक्तिप्रति पूर्व परराष्ट्रमन्त्री कमल थापाले कडा आपत्ति जनाउँदै सीमा मिचिनु वा नाकाबन्दीजस्ता ज्यादतीको विरोध गर्नु भारतविरोध नभई देशप्रतिको अविभाज्य निष्ठा भएको स्पष्ट पारेका छन्। थापाले वाग्लेको अभिव्यक्तिलाई विगतकै ‘मुनरो डक्ट्रिन’ को निरन्तरता भन्दै यस विषयमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको धारणा समेत माग गरेका छन्।
उता नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारत पुगेर आफ्नै राष्ट्रविरुद्ध बोल्नु र नेपाली राष्ट्रवादलाई भारतविरोधका रूपमा व्याख्या गर्नु कूटनीतिक तथा ऐतिहासिक रूपमा वाग्लेको बौद्धिक ज्ञानको टाटपल्टाई भएको भन्दै तिखो कटाक्ष गरेका छन्।
त्यसैगरी, राजनीतिक विश्लेषक डम्बर खतिवडा महानायक राजेेेहमाल समेतले व्यङ्ग्य गर्दै यदि भारतविरोधी राष्ट्रवादको युग सकिएको हो भने चुनावअघि बालेन शाहले देखाएको ग्रेटर नेपालको नक्सा र चुच्चे नक्साको जमिन फिर्ता ल्याउने वाचा के केवल चुनाव जित्ने हथकण्डा मात्र थिए भन्दै प्रश्न उठाएका छन्।
वाग्ले राष्ट्रियतासम्बन्धी अभिव्यक्तिमा विवादमा तानिएको यो पहिलो पटक भने होइन। यसअघि २०८० फागुनमा आयोजित रास्वपाकै एक प्रशिक्षण कार्यक्रममा उनले १९औँ शताब्दीको अमेरिकी प्रभाव क्षेत्र अर्थात् ‘मुनरो डक्ट्रिन’ सँग तुलना गर्दै उदाउँदो शक्ति भारतको ‘साउथ एसियन मुनरो डक्ट्रिन’ (प्रभाव क्षेत्र) लाई नेपालले व्यावहारिक भएर बुझिदिनुपर्ने र अनावश्यक ‘र-न्यासनलिजम’ (कच्चा राष्ट्रवाद) देखाउन नहुने तर्क गरेका थिए। त्यसबेला संसद्मै एमाले सांसद रघुजी पन्तले भारतले समेत औपचारिक रूपमा दाबी नगरेको ‘मुनरो डक्ट्रिन’ लाई नेपाली सांसदले स्विकार्नुपर्छ भन्नु अत्यन्त लज्जास्पद र खेदजनक भएको भन्दै वाग्लेको कडा भर्त्सना गरेका थिए।
यसअघि रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले समेत वाग्लेले 'नेपाललाई भारतको राज्य वा भुटानको स्थितिमा पुर्याउन सके भारतले भनेको मान्छ' भन्ने सोच राख्ने गरेको सनसनीपूर्ण दाबी गरेका थिए। वाग्लेले ढकाललाई 'गँजडी' भन्दै आरोप खारेज गरे पनि त्यसलगत्तै आएको मुनरो डक्ट्रिन र नेपाली सेनाको संख्या घटाउनुपर्ने उनको अभिव्यक्तिले संशयलाई थप बल पुर्याएको थियो।
विगतमा एमसीसी विरोधीहरूलाई 'अल्पज्ञान छचल्किएकाहरू' भनी टिप्पणी गरेका वाग्लेमाथि अवसरवादी राजनीतिक चाकडीको आरोप पनि लाग्दै आएको छ; सुरुमा कांग्रेसका गगन थापालाई 'राजनेता' भनेका उनले पछि रास्वपा प्रवेश गरेर सभापति रवि लामिछानेलाई नै असहज हुने गरी बीपी कोइरालासँग तुलना गरेका थिए। बारम्बार दोहोरिने यस्ता विवादास्पद अभिव्यक्तिहरूले कूटनीतिक यथार्थवाद प्रस्तुत गरेका हुन् वा राष्ट्रिय हितलाई नै कमजोर बनाउने प्रयास गरेका हुन् भन्ने विषयमा अहिले चौतर्फी बहस जारी छ।