काठमाडौँ : नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरू हुँदैछ। कीर्तिपुर मैदानमा आज अपराह्न साढे ४ बजे तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहने लुम्बिनी र दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने सुदूरपश्चिमको भिडन्तले अघिल्लो संस्करणको फाइनल खेलको झल्को दिनेछ।
दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
लुम्बिनी गत सिजनको विजेतका हिसाबले सुखद सुरूवात गर्ने लक्ष्यमा रहनेछ भने अघिल्लो हारको बदला लिने दाउमा सुदूरपश्चिम रहनेछ।
विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग हुने कुराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन तातेको छ।
प्रतियोगितामा यसपटक अघिल्ला दुई संस्करणभन्दा केही महत्त्वपूर्ण परिवर्तन भएका छन्।
अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।
त्यसमा आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधि, विदेशी खेलाडीको अनुबन्धमा थप सहजता र कीर्तिपुर मैदानमा सुधारिएका सुविधाले यसपटकको एनपिएललाई थप विशेष बनाएका छन्।
आइपिएलमा छाएका खेलाडी नेपाली मैदानमा
एनपिएल सिजन ३ को सबैभन्दा ठूलो आकर्षण अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो छाप छाडेका खेलाडीको सहभागिता हो। आइपिएलमा खेलेका र विश्वका विभिन्न टी–२० लिगमा मैदानमा उत्रनेछन्।
अस्ट्रेलियाका पूर्वओपनर डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्नेछ। आइपिएलमा सनराइजर्स हैदराबादलाई सन् २०१६ मा उपाधि दिलाएका वार्नरले तीनपटक प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको उपाधि जितेका थिए।
उनी अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य पनि हुन्।
वेस्ट इन्डिजका आन्द्रे रसेल विराटनगर किङ्समा आबद्ध छन्।
आक्रामक ब्याटिङ र तीव्र गतिमा बलिङ गर्ने क्षमताका कारण परिचित रसेलले कोलकाता नाइट राइडर्सबाट आइपिएल खेल्दै आफ्नो प्रभाव देखाएका थिए। उनी सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका सदस्यसमेत हुन्।
दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्नेछन्।
दबाबको अवस्थामा आक्रामक ब्याटिङ गर्दै खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण उनी टी–२० क्रिकेटमा परिचित छन्। कर्णालीले मिलरसँगै पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलतलाई पनि अनुबन्ध गरेको छ।
बंगलादेशका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट खेल्नेछन्। ब्याटिङ र स्पिन बलिङ दुवैमा योगदान दिन सक्ने शाकिबले आइपिएलसहित विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका छन्।
यी खेलाडीबाहेक पनि एनपिएलमा अनुभवी विदेशी खेलाडीको उपस्थिति छ। इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसम जनकपुर बोल्ट्समा छन्। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध छन्। जिम्बाब्वेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्नेछन् भने वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा छन्।
यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको सहभागिताले एनपिएलको चर्चा बढाएको थियो। यसपटक वार्नर, रसेल, मिलर र शाकिबजस्ता खेलाडीको आगमनले प्रतियोगितालाई थप अन्तर्राष्ट्रिय पहिचान दिने अपेक्षा गरिएको छ।