काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन्।
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरू त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ। उनीहरूको साथमा मन्त्री प्रतिभा रावल पनि छिन्।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ। भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ तर, जस्तो परिस्थितिमा रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्, यसले उनको भ्रमण धार्मिक मात्र होइन भन्ने अनुमान गर्न कुनै कठिन छैन। उनको यो भ्रमण धार्मिकभन्दा बढी राजनीतिक भेटघाटमा केन्द्रित हुनसक्ने आंकलन गरिएको छ।
सरकार गठनको सात महिना बित्दा बालेन सरकारका क्रियाकलाप र नतिजाबारे विभिन्न कोणबाट बहस भइरहेको छ। रवि लामिछानेलाई पार्टीभित्र र बाहिरबाट नयाँ सरकारका लागि अग्रसरता लिनुपर्ने सुझावहरूसमेत आएका छन्।
स्वयं सभापति लामिछाने बालेन सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन्, जुन कुरा उनले पार्टीका आन्तरिक बैठक र प्रशिक्षणहरूमा लगातार अभिव्यक्त गर्दै आएका छन्।
सहकारी प्रकरणमा अदालतमा मुद्वा विचाराधीन रहेकाले रवि खुम्चिनुपरेको र त्यसको छिनोफानो भएमा उनले आफ्नो शक्तिको प्रयोग गर्नेसमेत चर्चा हुँदै आएको छ। पछिल्लोसमय जिबी राईको दावी गरिएको अडियो प्रकरणले सहकारी मुद्वाको छिनोफानो लगाउन जिबीसँग उनको सम्पर्क रहेको आंकलन गर्न सकिन्छ।
पारिवारिक भनिएको भ्रमणमा सहकारीमन्त्री प्रतिभा रावललाई सँगै लैजानुले पनि सहकारी समस्या समाधानका निम्ति रवि भ्रमणमा निस्किएको आंकलनलाई बल पुगेको छ।
भ्रमणका क्रममा रविले भारतीय संस्थापनसँग भेटघाट गर्नसक्ने आंकलनसमेत गरिएको छ। शीर्ष नेताहरू यस्ता भ्रमणहरू गुप्त रूपमा कुटनीतिक संवादमा केन्द्रित हुने गरेको विगतका अनुभवहरू छन्, त्यसमा स्वयं रविसमेत सामेल हुँदै आएका छन्।
भारतीय संस्थापन समूह बालेन सरकारप्रति खुसी छैन भन्ने कुरा नेपाल सरकार र प्रधानमन्त्री बालेन शाहकै अभिव्यक्तिमा झल्किने गरेको छ। पछिल्लोसमय भारतमा कक्रोजहरूको प्रदर्शन बढिरहेको सन्दर्भमा नेपालमा अमेरिका पक्षधरहरू शक्तिहरू बलियो नहुन् भन्ने भारतीय चाहना हुनसक्छ, त्यसका निम्ति रवि एउटा अनुकूल पात्र हुन सक्छन्।
शिर्षक