दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित वडा नम्बर २ र ३ लाई जोड्ने धनबोरा ट्रस पुलको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाको आफ्नै आन्तरिक स्रोतबाट ६ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न गरिएको उक्त पक्की पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा तथा अपिहिमाल बेसक्याम्प जाने पदयात्रीहरूलाई आवतजावतमा ठूलो राहत मिलेको छ।
गत वर्ष गएको सुख्खा पहिरोका कारण त्यहाँ रहेको पुरानो ट्रस पुल भत्किएपछि अपिहिमाल बेसक्याम्प ट्रेकिङ मार्ग अवरुद्ध हुनुका साथै वडा नम्बर १ र २ का नागरिकहरूले निकै सास्ती खेप्नुपरेको थियो। पहिरोले पुल बगाएलगत्तै गाउँपालिकाले तत्काल सक्रियता देखाउँदै एक हप्ताभित्र अस्थायी काठे पुल बनाएर नागरिकहरूको आवागमन सुचारु गराएको थियो।
दीर्घकालीन समाधानका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आफ्नै स्रोत परिचालन गरेर नयाँ पक्की ट्रस पुल निर्माण अघि बढाएको हो। प्रतिकूल मौसम तथा बर्खायामको चुनौतीपूर्ण समयमा समेत कामलाई तीव्र गति दिँदै ६ महिनाभित्रै गुणस्तरीय पुल निर्माण सम्पन्न गरिएको हो। बर्खायामको समयमा यति छोटो अवधिमै पक्की ट्रस पुल निर्माण सम्पन्न भएको यो दुर्लभ र सम्भवतः पहिलो उदाहरण हो।
यो पुल सञ्चालनमा आएसँगै प्रसिद्ध पर्यटकीय गन्तव्य अपिहिमाल बेसक्याम्प जाने पदयात्रीहरूका लागि यात्रा निकै सहज र सुरक्षित बनेको छ। साथै वडा नम्बर १, २ र ३ लगायत सम्पूर्ण गाउँपालिकावासी तथा सेवाग्राही नागरिकहरूलाई आवतजावत गर्न र दैनिक कामकाजका लागि सहजीकरण भएको छ।
पुल उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले निर्माण कार्यमा अहोरात्र खटिने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै बधाई दिनुभएको छ। अध्यक्ष बोहराले पुल उपभोक्ता समितिका अध्यक्ष धनमिन ठेकरे लगायत सम्पूर्ण पदाधिकारी, कामदार, प्राविधिक सहयोग उपलब्ध गराउने समाज कल्याण समाज दार्चुलाका प्राविधिक राजेन्द्रसिंह ठगुन्ना तथा गाउँपालिकाको योजना तथा प्राविधिक शाखाका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।
स्थानीय स्रोत-साधनको प्रभावकारी उपयोग गरी नागरिकका समस्या द्रुत गतिमा समाधान गर्न गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।