दार्चुला । दार्चुलाको दुर्गम अपी हिमाल गाउँपालिकामा भूमि प्रशासन सेवा तथा नापी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराको पहलमा स्थानीय तहमै यी सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने स्थानीय बासिन्दाको बाध्यता कम हुने भएको छ।
भूमि प्रशासन तथा नापीसम्बन्धी सेवा आफ्नै पालिकाबाट सुरु गर्ने अपी हिमाल दार्चुलाकै पहिलो स्थानीय तह बनेको गाउँपालिकाले जनाएको छ। साथै, सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकापछि यस्तो सेवा सञ्चालन गर्ने दोस्रो स्थानीय तहका रूपमा अपी हिमाल रहेको दाबी गरिएको छ।
यसअघि जग्गाको लिखत पारित, नापी तथा भूमि प्रशासनसम्बन्धी सामान्य कामका लागि समेत स्थानीय नागरिकले जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। यसका लागि धेरै समय र रकम खर्च गर्नुपर्ने अवस्था रहेकोमा गाउँपालिकामै सेवा सञ्चालन भएपछि नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। स्थानीय तहमै सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहसमेत सरल र छरितो हुने विश्वास गरिएको छ।
भूमि प्रशासन तथा नापी सेवाको शुभारम्भसँगै गाउँपालिकाले अन्य प्रशासनिक सेवा विस्तारलाई पनि प्राथमिकता दिएको छ। करदाता सेवा सञ्चालनका लागि केही दिनअघि आन्तरिक राजस्व कार्यालय डडेल्धुरासँग सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ। उक्त सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसबाट स्थानीय व्यापारी तथा करदातालाई करसम्बन्धी कामका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
भूमि प्रशासन सेवा सञ्चालन भएको पहिलो दिन गाउँपालिका–५ का कालो धामीले आफ्ना छोरा जगत धामीलाई बकसपत्र गरी लिखत पारित गराएका छन्। उनी गाउँपालिकामै सेवा लिएर लिखत पारित गराउने पहिलो सेवाग्राही बनेका हुन्। पहिलो सेवाग्राही बनेका धामी बाबुछोरालाई गाउँपालिका अध्यक्ष बोहराले बधाई तथा सम्मान व्यक्त गरेका छन्।
सेवा सञ्चालनमा सहयोग तथा सहजीकरण गर्ने भूमि प्रशासन कार्यालय दार्चुलाका प्रमुख ललित विष्ट, लक्ष्मीदत्त विष्ट, जिल्ला नापी कार्यालयका प्रमुख तथा सम्बन्धित कर्मचारीहरूलाई अध्यक्ष बोहराले धन्यवाद दिएका छन्। सम्बन्धित निकाय र कर्मचारीको सहयोगले दुर्गम गाउँपालिकामै सेवा सञ्चालन गर्न सम्भव भएको उनले बताएका छन्।
अपी हिमाल गाउँपालिकाले भूमि प्रशासन तथा नापी सेवाको विस्तारसँगै सुशासन, आर्थिक विकास, जीविकोपार्जन सुधार, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा पनि काम अघि बढाइरहेको जनाएको छ। स्थानीय नागरिकलाई आफ्नै गाउँपालिकाबाट सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।