दार्चुला - सुदूरपश्चिम प्रदेशको प्रमुख प्राकृतिक तथा पर्यटकीय धरोहरका रूपमा रहेको अपि हिमालको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अपि हिमाल पर्यटन उत्सव २०८३’ अपि आधार शिविर (बेस क्याम्प) मा भव्य रूपमा सुरु भएको छ। सोमबार अपि हिमाल गाउँपालिकाको आयोजनामा सम्पन्न उद्घाटन सत्रको प्रमुख आतिथ्यता सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री खगराज भट्टले गरेका थिए।
तिनदिनसम्म चल्ने यश उत्सव कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, आर्थिक मामिला तथा योजना मन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी, प्रदेशका प्रमुख सचिव उत्तर खत्री लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।
‘अपि क्षेत्र सुदूरपश्चिमको आर्थिक समृद्धिको आधारशिला’ : मुख्यमन्त्री भट्ट
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री खगराज भट्टले अपि हिमाल दार्चुलाको मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशकै गौरव र समृद्धिको बलियो आधार भएको बताए।
"भौगोलिक विकटतालाई सम्भावनामा बदल्दै अपि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पदयात्रा गन्तव्य बनाउन प्रदेश सरकार प्रतिबद्ध छ। आधार शिविरसम्म पुग्ने पदमार्ग सुधार, सञ्चार सुविधा विस्तार, आवास तथा आवश्यक पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले नीतिगत र बजेटरी प्राथमिकता दिनेछ," मुख्यमन्त्री भट्टले भने।
उनले प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न स्थानीय तहसँग मिलेर ठोस कार्ययोजना अघि बढाइने स्पष्ट पारे।
‘ओझेलमा परेको अपिलाई विश्वसामु चिनाउने अभियान’ : पालिका अध्यक्ष
समारोहका सभाध्यक्ष एवं अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले ठूलो आँट गरेर आधार शिविरमै पर्यटन उत्सव आयोजना गरेको बताए।
"प्रचुर पर्यटकीय सम्भावना भएर पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार अभावका कारण अपि क्षेत्र लामो समयदेखि ओझेलमा पर्दै आएको थियो। यो उत्सव केवल औपचारिकता नभएर अपि हिमाललाई विश्व पर्यटन बजारसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने एउटा ऐतिहासिक सुरुआत हो," अध्यक्ष बोहराले भने।
उनले आधार शिविरसम्म सुरक्षित पदमार्ग निर्माण, पदयात्रीका लागि बासस्थान (टी-हाउस तथा होमस्टे) व्यवस्थापन र यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी तथा स्थानीय संस्कृतिको संरक्षणमा प्रदेश र सङ्घीय सरकारले विशेष बजेट तथा योजनासहित साथ दिनुपर्ने माग गरे।
जैविक विविधता, मौलिक संस्कृति र पर्यटनको सम्भावना
समुन्द्री सतहबाट ७,१३२ मिटर उचाइमा रहेको अपि हिमाल गुराँस हिमशृङ्खलाको सर्वोच्च शिखर हो। अपि–नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने यो भूभाग हिउँचितुवा, कस्तुरी मृग, डाँफे जस्ता दुर्लभ वन्यजन्तु र वनस्पतिहरूको बासस्थान मानिन्छ। साथै, यस भेगका सौका/व्याँसी तथा खस समुदायको मौलिक भेषभूषा, झाँकी र परम्परागत जीवनशैलीले पदयात्रीहरूलाई आकर्षित गर्दै आएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय मौलिक झाँकी, सांस्कृतिक नृत्य तथा परम्परागत हिमाली जनजीवन झल्किने प्रस्तुतिहरू देखाइएको थियो। आधार शिविरमै पुगेर आयोजित यस उत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै सुदूरपश्चिमको समग्र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।