सुदूरपश्चिम प्रदेशमा एकै महिनामा लागू औषधका ४७ मुद्दा दर्ता भएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज महिनामा मात्रै उक्त मुद्दा दर्ता भएका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरण अनुसार सो मुद्दामा ८४ जना अभियुक्तहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ८३ जना पुरुष र १ जना महिला रहेका छन ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा अवैध लागुऔषध समेत बरामद गरेको छ । बरामद गरिएका लागुऔषधमा १ किलो ९० ग्राम १२७ मिलिग्राम चरेश, १२४ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन र ६२१ वटा फेनार्गन, स्पाश तथा ट्रमाडोल जस्ता ट्याब्लेटहरू रहेको प्रदेश कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले बताए । उनले सीमानाका, बसपार्क तथा शंकास्पद क्षेत्रहरूमा कुकुर टोलीसहित नियमित र आकस्मिक चेकजाँच बढाएपछि लागुऔषध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको बताए ।
प्रतिवेदन अनुसार असोज महिनामा सुदूरपश्चिम प्रदेशभर कुल ३२० वटा अपराधका घटनाहरू दर्ता भएका छन् । जसमा ज्यान सम्बन्धी ६१, आत्महत्या ५१, चोरी २०, संगठित तथा आर्थिक अपराध ११, सामाजिक अपराध ४४, महिला तथा बालबालिका सम्बन्धी २७, सवारी ज्यान १५ र अन्य ९ वटा मुद्दाहरू रहेका छन् । जधन्य तथा गम्भीर अपराधतर्फ प्रदेशभर ७९ वटा घटनाहरू दर्ता भएका छन् । जसमध्ये कर्तव्य ज्यानका ४, हातहतियार १, मानव बेचबिखन १, बैंकिङ कसुर २९, जुवातास ८, ठगी ९ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २७ वटा घटना रहेका छन् । पुराना र पेन्डिङ मुद्दा अनुसन्धानतर्फ कुल २,३५१ पेन्डिङ मुद्दामध्ये असोज महिनामा ६८ वटा मुद्दा फछ्र्यौट गरिएका छन् ।
त्यसैगरी अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ३४ वर्ष ७ महिना २२ दिन कैद सजाय र ४५ लाख ५ हजार ७७७ रुपैयाँ जरिवाना असुल गराउन सफल भएको छ ।