विगतको सशस्त्र द्वन्द्वका समयमा जनमुक्ति सेनामा रहेर लडेकी बैतडीकी गंगा धामी (पार्टी नाम ‘गरिमा’) यतिखेर पाठेघरको मुखको क्यान्सरसँग जीवन र मरणको कठिन लडाइँ लडिरहेकी छिन्। विगत साढे दुई वर्षदेखि क्यान्सरको गम्भीर समस्या झेलिरहेकी उनले आफ्ना दुई साना बालबच्चाको भविष्य र आफ्नो जीवनरक्षाका लागि देश–विदेशमा रहेका सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेकी छिन्।
बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका–८, मल्लादेही (बबिडा) माइती भई हाल कैलाली बसोबास गर्दै आएकी धामीले सानै उमेरमा जनयुद्धमा सहभागिता जनाएकी थिइन्। शान्ति प्रक्रियापछि घिमिरे थरका व्यक्तिसँग विवाह गरी सामान्य पारिवारिक जीवन बिताउँदै आएकी उनका दुई नाबालक सन्तान छन्। साढे दुई वर्षअघि पाठेघरको मुखको क्यान्सर पुष्टि भएपछि उनको परिवारमा ठूलो बज्रपात परेको थियो।
सुरुवाती चरणमा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा केही सुधार देखिए पनि पछिल्लो समय रोग पुनः बल्झिएपछि उनी थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल पुगेकी छिन्। लामो समयको निरन्तर उपचार, औषधि र अस्पताल बसाइका कारण परिवारको सम्पूर्ण आर्थिक स्रोत रित्तिसकेको छ। आर्थिक अभावकै कारण अब अगाडिको उपचार प्रक्रिया अघि बढाउन नसक्ने नाजुक अवस्था सिर्जना भएको छ।
"मेरा दुई साना छोराछोरी छन्, उनीहरूको अनुहार हेरेर पनि म बाँच्न चाहन्छु," धामीले भावुक हुँदै भनिन्, "लामो उपचारले घरको आर्थिक अवस्था पूरै कमजोर बनाइसक्यो। अब थप खर्च जुटाउने कुनै बाटो नभएपछि बाध्य भएर सहयोगी मनहरूसँग गुहार मागिरहेकी छु।"
आफ्नो उपचारसम्बन्धी सबै मेडिकल रिपोर्ट र कागजातहरू उपलब्ध गराउन तयार रहेको बताउँदै उनले आफ्नो आवाजलाई सम्बन्धित निकाय र सहयोगी हातहरूसम्म पुर्याइदिन तथा जीवन बचाउन सक्दो सहयोग गरिदिन सबैमा विनम्र अनुरोध गरेकी छिन।
