गृहमन्त्री सुधन गुरुङले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन्। पदको मर्यादा र पदीय हैसियत बिर्सिएर राज्यका गोप्य तथा संवेदनशील सूचनाहरू अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति अब सह्य नहुने भन्दै उनले कडा चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लामो समयदेखि यो प्रवृत्तिलाई नियालिरहेको उल्लेख गरेका छन्। राज्यको गोपनीयता र सुरक्षासँग जोडिएका विषयहरूमा लापरबाही वा स्वार्थका लागि हुने सूचना चुहावटले समग्र सुरक्षातन्त्रमै असर पार्ने उनको भनाइ छ।
गृहमन्त्री गुरुङले भनेका छन्, 'गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।'
उनले मन्त्रालय वा मातहतका निकायमा प्राप्त हुने सामान्यभन्दा सामान्य सूचना वा सुराकले पनि ठूला अपराधहरू रोक्न, अनुसन्धानलाई निष्कर्षमा पुर्याउन वा भविष्यमा हुन सक्ने गम्भीर घटनाहरूको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने बताएका छन्। राज्यले सुम्पिएको गोपनीयताको जिम्मेवारीलाई बेवास्ता गर्दै व्यक्तिगत वा अन्य स्वार्थका लागि काम गर्ने जोसुकै कर्मचारी वा पदाधिकारी भए पनि त्यसलाई छुट नदिइने उनले चेतावनी दिएका छन्। 'राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,' उनले भनेका छन् ।
यसअघि सोमबार सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित गरिएको थियो । गम्भीर सूचना चुहाएको आरोपमा मन्त्रालयले उनलाई निलम्बित गरेको हो । गृहमन्त्री गुरुङले यसैलाई लक्षित गर्दै चेतावनी दिएको संकेत गरेका छन् । उद्यपि, उनले सन्दर्भ खुलाएका छैनन् । एआईजी दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।