डडेलधुरा । सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्पराको जीवन्त प्रतीकका रूपमा परिचित डडेलधुराको प्रसिद्ध ‘बडाल जात्रा’ शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । गन्यापधुरा गाउँपालिका–२, बडालस्थित लाटागन्याप देवताको मन्दिरमा लाग्ने यस जात्रामा डडेलधुराका विभिन्न भेगका साथै डोटी, बैतडी, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौँ श्रद्धालु तथा दर्शनार्थीहरूको सहभागिता रहेको थियो ।
कार्तिक शुक्ल दशमीको रात ‘रतेडी’ र भोलिपल्ट ‘दिउँसेडी’ गरी दुई दिनसम्म सञ्चालन हुने गरेको यस जात्रामा यस वर्ष पनि श्रद्धालुहरूको उल्लेख्य घुइँचो लागेको थियो । परम्पराअनुसार शुक्ल नवमीको रातभर पूजाआराधना तथा जाग्राम बसेर भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गर्नाले मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति छाउने र दुःखकष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । वर्षभरि काम, व्यवसाय र विभिन्न जिम्मेवारीमा व्यस्त रहने स्थानीयवासीहरू समेत पुर्ख्यौली परम्परालाई निरन्तरता दिन र आफ्नो माटोसँग जोडिन जात्राको अवसरमा गाउँ फर्किने गरेका छन् ।
जात्राको मुख्य आकर्षणका रूपमा परम्परागत ‘चौलो’ खेल प्रस्तुत गरिएको थियो । दमाहा र भोक्करको गुञ्जायमान तालसँगै हातमा ढाल, तरबार, खुकुरी र भालाजस्ता परम्परागत अस्त्र लिएर खेलिने चौलोले जात्रास्थलको वातावरणलाई निकै रोमाञ्चक बनाउने गरेको छ । पुर्खाहरूको वीरता, साहस र ऐतिहासिक विरासत झल्काउने चौलो नृत्य र बाजागाजाको तालमेलले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएको छ ।
जात्राका क्रममा विभिन्न गाउँबाट ‘देउरो’ ल्याउने परम्परासमेत भव्य रूपमा सम्पन्न भएको छ । मालीगाउँबाट मूल देउरो ल्याइने यस जात्रामा कुजाकोट, रुमाइल, बडाल र थप्सालगायतका स्थानबाट समेत देउरो भित्र्याउने गरिएको छ । विभिन्न गाउँका देउरो एकै थलोमा भेला हुने गरेको यस परम्पराले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र आपसी भाइचारालाई थप बलियो बनाउने गरेको छ । लामो समयपछि आफन्त र बाल्यकालका साथीभाइसँग भेटघाट गर्ने तथा पुराना सम्झना साट्ने अवसरका रूपमा समेत यो पर्व स्थापित हुँदै आएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै बडाल जात्राले स्थानीय आर्थिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुर्याउने गरेको छ । मेलाका अवसरमा स्थानीय कृषि उपज तथा घरेलु उत्पादनहरूको किनबेच र साटासाट हुने गरेको छ । बदलँदो समयसँगै मौलिक बाजागाजा, चौलो र परम्परागत विधिहरू लोप हुन नदिन र पुर्खाको यो अमूल्य सांस्कृतिक सम्पदालाई सम्मानका साथ भावी पुस्तामा हस्तान्तरण गर्न संरक्षणमा जुट्नुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आइरहेका छन् ।