राजनीतिमा नयाँ नेतृत्वको बहस गर्दा सबैभन्दा पहिले उमेर होइन, विचार र दृष्टिकोणलाई आधार बनाउनुपर्छ। उमेरले युवा हुँदैमा राजनीतिक चेतना, चिन्तन र नीति पनि नयाँ हुन्छ भन्ने छैन। पुरानै विचार, पुरानै राजनीतिक संस्कार र पुरानै आर्थिक दृष्टिकोण बोकेर नयाँ पुस्ताको प्रतिनिधित्व गरेको दाबी गर्नुको कुनै अर्थ हुँदैन। राजनीति भनेको अनुहार परिवर्तन गर्ने प्रक्रिया मात्र होइन, समाजलाई हेर्ने दृष्टिकोण र परिवर्तनको बाटो बदल्ने प्रक्रिया हो।
नेपालको राजनीतिमा अहिले समाजवाद, समृद्धि, सुशासन र रूपान्तरणका कुरा गर्नेहरूको कमी छैन। तर विचारको गहिराइ, वैचारिक स्पष्टता र नीतिगत प्रतिबद्धतामा भने ठूलो खडेरी देखिन्छ। कुनै विचार किन आवश्यक छ, त्यसले समाजको कुन समस्या समाधान गर्छ, विद्यमान आर्थिक तथा सामाजिक संरचनालाई कसरी बदल्छ र परिवर्तनको आधार के हो भन्ने प्रश्नको स्पष्ट जवाफ दिन नसक्ने नेतृत्व केवल लोकप्रिय नाराको भरमा अगाडि बढ्न खोजिरहेको हुन्छ।
वास्तविक नयाँ विचार भनेको पुराना राजनीतिक दलको आलोचना गर्नु वा उनीहरू असफल भए भन्नु मात्र होइन। पुरानो राजनीतिक अभ्यासका कमजोरी पहिचान गरेर त्यसको विकल्पसहित प्रस्तुत हुनु हो। वर्गीय विभेद, आर्थिक असमानता, श्रम शोषण, दलाल पुँजीवाद, बेरोजगारी, शिक्षा र स्वास्थ्यको व्यापारीकरणजस्ता संरचनात्मक समस्यालाई बुझ्ने र तिनको समाधानका लागि स्पष्ट नीति ल्याउने क्षमता नै वैचारिक नयाँपन हो।
अहिलेको मुख्य समस्या नेतृत्वमा युवा अनुहारको अभावभन्दा पनि राजनीतिमा नवीन चिन्तनको अभाव हो। पुरानै आर्थिक नीतिलाई नयाँ भाषामा प्रस्तुत गरेर, पुरानै शक्ति संरचनासँग सम्झौता गरेर र पुरानै राजनीतिक संस्कारलाई निरन्तरता दिएर नयाँ राजनीतिको दाबी गर्न सकिँदैन। विचारमा परिवर्तन नआएसम्म नेतृत्वको पुस्तान्तरणले मात्रै समाजको अवस्था बदल्न सक्दैन।