नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
मंगलबार पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गरी सरकारका स्वतन्त्र प्रेस विरोधी गतिविधिका विरुद्ध आन्दोलनको घोषणा गरिएको जनाएका छन्। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएकोले आन्दोलनमा उत्रिनु परेको दाहालले जनाएका छन्।
त्यस्तै, गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासनलगायत, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको महासंघले जनाएको छ। यससँगै वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएकोले विरोधमा उत्रिनु परेको महासंघले जनाएको छ।
पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत पत्रकार महासंघले मंसिर २ गते प्रधानमन्त्री वालेन्द्र शाहलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ। त्यसपछि मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइने भएको छ।
त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने गरिने भएको छ। मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्वद्ध संघसंगठनसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला गरिने महासंघले जनाएको छ। माग पूरा नभएमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव दाहालले जानकारी दिए।