दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित अपिहिमाल आधार शिविरमा आयोजित तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव–२०८३’ विभिन्न सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न भएको छ। कात्तिक १७ गतेदेखि सुरु भएको उत्सव बुधबार समापन गरिएको हो।
अपिहिमाल क्षेत्रको प्राकृतिक सुन्दरता, हिमाली पर्यटन, स्थानीय कला, संस्कृति र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको उत्सवले यस क्षेत्रको पर्यटन विकासबारे नयाँ बहस र सम्भावनाको ढोका खोलेको आयोजकको विश्वास छ।
उत्सवमा गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले यस वर्ष कम्तीमा १० हजार पर्यटक अपिहिमाल भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए। हिमाल, ताल, गुफा तथा धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए।
पर्यटन विकासलाई उत्सवमा मात्र सीमित नराखी आवश्यक पूर्वाधार निर्माण, स्थानीय उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यवसाय प्रवर्द्धनसँग जोडेर अघि बढाइने अध्यक्ष बोहराको भनाइ थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले अपिहिमालसहित दुर्गम क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। पर्यटन सम्भावनाको उपयोग गर्न प्रदेश सरकार, स्थानीय तह र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताए।
त्यस्तै, उत्सवमा सहभागी मुख्यमन्त्री खगराज भट्टले अपिहिमालको वास्तविक भौगोलिक अवस्था र यहाँका नागरिकका समस्या पर्याप्त रूपमा बुझ्न नसकेको स्वीकार गर्दै आत्मालोचना गरे। उनले यस क्षेत्रका आवश्यकता र विकासका सम्भावनालाई नजिकबाट बुझ्न पुनः अपिहिमाल आउने प्रतिबद्धता व्यक्त गरे। यहाँको वास्तविक अवस्थाबारे जानकारी लिएर नागरिकका समस्या सम्बोधन गर्ने उनको भनाइले स्थानीयमा उत्साह थपेको थियो।
तीन दिनसम्म चलेको उत्सवमा स्थानीय मौलिक संस्कृति झल्किने नाचगान, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए। स्थानीय कलाकारले प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनुका साथै मौलिक कला र संस्कृतिको संरक्षणमा समेत उत्सवले योगदान पुर्याएको छ।
हिमालको काखमा अवस्थित अपिहिमाल आधार शिविर पदयात्रा, प्राकृतिक दृश्यावलोकन र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो। यद्यपि, यस क्षेत्रको पर्यटनलाई दिगो बनाउन सडक तथा पदमार्ग, सञ्चार, आवास, खानपान र स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारको विकास चुनौतीका रूपमा देखिएको छ। उत्सव उत्साहजनक रूपमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले जानकारी दिए।
जलवायु संकट सम्बोधन गर्न १४ बुँदे अपिहिमाल घोषणापत्र
पर्यटन उत्सवकै अवसरमा जलवायु परिवर्तनले हिमाली तथा तटीय क्षेत्रमा निम्त्याइरहेको संकटलाई सम्बोधन गर्ने उद्देश्यसहित ‘जलवायु परिवर्तनसम्बन्धी अपिहिमाल घोषणापत्र–२०८३’ जारी गरिएको छ।
चमेलिया नदी तटीय क्षेत्रका स्थानीय तह, समुदाय, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको साझा पहलमा १४ बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो।
घोषणापत्रमा तीव्र रूपमा पग्लिरहेका हिमनदी, सुक्दै गएका पानीका मुहान, हिमताल विस्फोटनको जोखिम तथा बाढीपहिरोजस्ता जलवायुजन्य विपद्ले हिमाली पारिस्थितिक प्रणाली र मानव जीवनमा गम्भीर चुनौती थपिरहेको उल्लेख गरिएको छ।
घोषणापत्रले चमेलिया जलाधार क्षेत्रको जैविक विविधता, रैथाने वनस्पति तथा वन्यजन्तुको संरक्षणलाई प्राथमिकता दिएको छ। परम्परागत तथा आदिवासी ज्ञानलाई वैज्ञानिक अनुसन्धानसँग जोडेर नीति निर्माण गर्ने, जलवायु अनुकूल कृषि, जैविक खेती, जडीबुटी उद्यम र हरित रोजगारी विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
त्यसैगरी खानेपानी संकट समाधानका लागि ‘एक गाउँ–एक सुरक्षित मुहान’ अभियान सञ्चालन गर्ने, हिमाली पर्यटन मार्गलाई ‘शून्य फोहोर’ गन्तव्यका रूपमा विकास गर्ने तथा जलवायुसम्बन्धी अध्ययन अनुसन्धानका लागि ‘एपी हिमालयन रिसर्च एन्ड इनोभेसन फन्ड’ स्थापना गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ।
जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको उच्च जोखिम भोगिरहेका हिमाली समुदायको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उठाउने प्रतिबद्धता पनि घोषणापत्रले गरेको छ। हानि तथा नोक्सानी कोष, ग्रिन क्लाइमेट फन्ड र अनुकूलन कोषजस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तमा स्थानीय तहको प्रत्यक्ष पहुँच विस्तार गर्दै अपिहिमालको सन्देश आगामी कोप–३१ सम्मेलनसम्म पुर्याउन पहल गरिने उल्लेख छ।
क्रिकेटमा धनगढी–११ र भलिबलमा मालिकार्जुन विजयी
उत्सवलाई थप आकर्षक बनाउन अपिहिमाल आधार शिविरमै आयोजना गरिएका मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता पनि सम्पन्न भएका छन्।
१५ ओभरको क्रिकेट प्रतियोगितामा धनगढी–११ ले अपि–११ लाई पराजित गर्दै जित हात पारेको छ। पहिले ब्याटिङ गरेको धनगढी–११ ले १४२ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अपि–११ ले निर्धारित ओभरमा १०४ रन मात्रै बनाउन सक्यो।
त्यसैगरी अपिहिमाल र मालिकार्जुनबीच भएको बेस्ट अफ थ्री भलिबल प्रतियोगितामा लगातार दुई खेल जित्दै मालिकार्जुनले उपाधि जितेको छ।
हिमालको आधार शिविरमा आयोजना गरिएका खेलकुद गतिविधिले उत्सवमा थप रौनक ल्याउनुका साथै आपसी सद्भाव, मित्रता र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याएको आयोजकको विश्वास छ।