डडेल्धुरा - कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा वैशाख–जेठको चर्को घामले भुइँ तातिरहेका बेला उत्तरतर्फ नजर डुलाउँदा चुरेको काखमा एउटा शान्त र हरियो बस्ती मुस्कुराइरहेको देखिन्छ। त्यो बस्ती हो— डडेल्धुराको परशुराम नगरपालिका–७ मा पर्ने मलास।
महेन्द्रनगरबाट सोझो दूरी नाप्ने हो भने मुस्किलले २० किलोमिटर। चुरेको शितल हावा, घना वनजंगल, प्राचीन ऐतिहासिक कोट, रैथाने जीवनशैली र जैविक विविधताले भरिपूर्ण मलास प्रकृतिको सुन्दर उपहारजस्तै लाग्छ। तर, तराईको बजारबाट जति नजिक यो गाउँ देखिन्छ, राज्यको विकास र आधारभूत सुविधाको पहुँचबाट भने यो बस्ती त्यति नै टाढा र ओझेलमा परेको छ।
मलासको पीडाको मूल जरो सडक पूर्वाधारको अभाव हो। आफ्नै जिल्ला सदरमुकाम डडेल्धुरा पुग्न यहाँका बासिन्दाले महाभारतकै यात्रा तय गर्नुपर्छ। गाउँबाट करिब २० किलोमिटर तल पैदल झरेपछि मात्र गाडी भेटिन्छ। त्यहाँबाट पनि लामो र घुमाउरो बाटो हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। कच्ची सडकको ट्र्याक खुले पनि बर्खा सुरु हुनासाथ ठाउँ–ठाउँमा पहिरो खस्छ। बर्खायामभरि गाउँको यातायात सम्पर्क पूरै विच्छेद हुन्छ र स्थानीयवासी ज्यान जोखिममा राखेर भीरपहराको बाटो हिँड्न बाध्य हुन्छन्।
सडक नहुँदाको सबैभन्दा ठूलो मार यहाँको स्वास्थ्य सेवामा परेको छ। गाउँमा सहरी स्वास्थ्य केन्द्रको एउटा भवन त ठडिएको छ, तर न पर्याप्त औषधि छ, न त आवश्यक जनशक्ति नै। चार–पाँच वर्षअघि गाउँमै चलेको बर्थिङ सेन्टरलाई परशुराम नगरपालिकाले 'स्रोत-साधन अभाव र भौगोलिक कठिनाइ' देखाउँदै बन्द गरिदिएपछि गाउँका गर्भवती महिलाहरूको जीवन झन् जोखिममा परेको छ। सुत्केरी व्यथा लागेका महिला वा गम्भीर बिरामीलाई काठको स्ट्रेचरमा बोकेर घण्टौँको ओरालो हिँडाउनु यहाँको नियमित नियति हो। स्वास्थ्य केन्द्रकी अनमी गीता महरा धामीका अनुसार बिरामीलाई सडकसम्म पुर्याएर महेन्द्रनगरका अस्पताल पुर्याउँदा कम्तीमा चार घण्टा बितिसक्छ, जसका कारण समयमै उपचार नपाएर कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने जोखिम सधैँ रहन्छ।
गाउँको शिक्षाको तस्बिर पनि उस्तै निराशाजनक छ। मलासमा कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालय छ। माध्यमिक तह उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूले गाउँ छाड्नैपर्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरी महेन्द्रनगर वा जोगबुढा गएर कोठा भाडामा बस्न नसक्दा १० कक्षापछि पढाइ नै छाड्न विवश छन्। नियमित आवतजावत गर्ने बाटो नहुँदा धेरैजसो बालबालिकाको उच्च शिक्षा अधुरै छुट्ने गरेको छ।
पानी र बिजुलीको कथाले २१औँ शताब्दीको विकासको गतिलाई नै गिज्याइरहेको छ। घर–घरमा धारा नहुँदा यहाँका महिलाहरूको आधा जीवन उकालो–ओरालो गर्दै पिठ्युँमा गाग्री बोकेर पानी जोहो गर्नमै बित्छ। बिजुलीको प्रतीक्षा त झन् वर्षौँदेखिको अधुरो सपना बनेको छ। २०७७ सालमै गाउँमा बिजुलीका पोल गाडिए, २०८२ सालसम्म आइपुग्दा तार पनि टाँगियो, तर ती तारमा अहिलेसम्म करेन्ट बगेको छैन। गाउँलेहरू अझै पनि कमजोर सौर्य ऊर्जाको धिपधिपे उज्यालोमा रात काट्न बाध्य छन्। नुन, चामलदेखि दैनिक उपभोग्य वस्तुसम्म मानिस आफैँले पिठ्युँमा भारी बोकेर गाउँ पुर्याउनुपर्ने अवस्थाले यहाँको जनजीवन कति कष्टकर छ भन्ने प्रस्ट पार्छ।
विडम्बना के छ भने, मलास प्राकृतिक स्रोत, कृषि र पशुपालनमा निकै उर्वर छ। यहाँका बारीमा लटरम्म नासपाती, मौसमी, पुलम, काफल र अदुवा फल्छन्। प्रायः प्रत्येक घरमा बाख्रा, खसीबोका पालिएका छन्। तर, सडक नहुँदा किसानले आफ्ना उत्पादन बजारसम्म पुर्याउन सक्दैनन्। बजार नपाएर फलफूल बारीमै कुहिन्छन् भने व्यापारीले गाउँमै आएर सस्तो मूल्यमा खरिद गरिदिँदा किसानले पसिनाको उचित मूल्य पाउँदैनन्। सडकको सहज पहुँच हुने हो भने केही घण्टामै कैलाली र कञ्चनपुरका ठूला बजारमा अर्गानिक कृषि उपज पुर्याएर गाउँको अर्थतन्त्र फेर्न सकिने सम्भावना खेर गइरहेको छ।
राजनीतिक रूपमा हेर्दा मलास डडेल्धुरा जिल्लामा पर्छ, जहाँबाट शेरबहादुर देउवा पटक–पटक देशको प्रधानमन्त्री बने। तर, शीर्ष नेताकै गृहजिल्लाको यो बस्तीले दशकौँदेखि एउटा भरपर्दो सडक, स्वास्थ्य चौकी र बिजुलीका लागि संघर्ष गरिरहनु परेको छ। स्थानीय बासिन्दाहरू नेताहरूले चुनावका बेला आश्वासन बाँड्ने तर जितेपछि गाउँलाई फर्केर नहेर्ने गुनासो पोख्छन्। ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न बजेट नहुनु र रोजगारीको अवसर नहुँदा गाउँका युवाहरू बिदेसिन बाध्य छन्।
अभावको कालो बादलमुनि मलासमा सम्भावनाको विशाल उज्यालो लुकेको छ। चुरेको उच्च भूभागमा अवस्थित यो ठाउँलाई आकर्षक 'हिलस्टेसन' र पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। तराईमा उखरमाउलो गर्मी हुँदा शीतलता खोज्न आउने पर्यटकका लागि मलास उत्कृष्ट गन्तव्य बन्न सक्छ। यहाँको ऐतिहासिक कोट, हाइकिङ ट्रेल, भ्युटावर तथा संवेदनशील चुरे क्षेत्रको अध्ययन–अनुसन्धानका लागि यो ठाउँ खुला प्रयोगशाला बन्ने क्षमता राख्छ।
मलासको काँचुली फेर्ने पहिलो र मुख्य कडी भनेकै बाटो हो। सडक पुगे स्वास्थ्य सेवा सहज हुन्छ, विद्यार्थीलाई विद्यालय जान सजिलो हुन्छ, किसानको उत्पादनले मूल्य पाउँछ र पर्यटकको चहलपहल बढ्छ। स्थानीय, प्रदेश र संघीय सरकारले इच्छाशक्ति देखाएर मलासलाई सडक सञ्जाल, बिजुली र आधारभूत स्वास्थ्यसँग जोड्ने हो भने यो बस्ती अभावको कथाबाट बाहिर निस्किएर सुदूरपश्चिमकै एक नमुना पर्यटकीय तथा कृषि केन्द्र बन्न सक्छ।