डडेल्धुरा — सुदूरपश्चिमको मौलिक लोकसंस्कृति, अगाध धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम मानिने ऐतिहासिक शक्तिपीठ लाटा गन्याप मन्दिरमा यस वर्षको ‘शिखर जाँत’ भोलि अथवा असोज ०८ गते भव्य रूपमा आयोजना हुने भएको छ। महाभारत पर्वत शृङ्खलाको घना वनभित्र अवस्थित विशाल शिला (ढुङ्गा) रूपी लाटा गन्याप देवताको दर्शन तथा पूजाआराधनाका लागि हरेक वर्ष यहाँ विशेष मेला लाग्ने गर्दछ।
यस धार्मिक जात्रामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका अन्तर्गतका मालिगाउँ, रुमायलगाउँ, जैसेरागाउँ र रेलगाउँ तथा छिमेकी जिल्ला डोटीको शिखर नगरपालिकाका थप्सा र बानेडुग्रेसैनबाट संयुक्त रूपमा देउरो लैजाने प्राचीन परम्परा रहेको छ। जात्राको मुख्य आकर्षण मानिने मूल देउरो भने विधिपूर्वक रुमाइल गाउँबाट उठाइने गरिन्छ।
धार्मिक यात्राका क्रममा विभिन्न ठाउँहरू पार गर्दै जाँदा दाइन, दमाहा, घण्टा, भोक्कर र बिगुलजस्ता परम्परागत बाजागाँजा बजाउने चलन छ। विशेष गरी दमाहा बजाउने कार्य लाटा गन्याप देवताबाटै परम्परागत रूपमा विशेष अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्र गर्ने गर्छन्, जसले यस जात्राको मौलिकता र सांस्कृतिक महत्त्वलाई अझ उजागर गरेको छ।
लाटा गन्यापको शिखर जाँतमा सहभागी हुने दर्शनार्थीहरूले एक साताअघिदेखि नै तामसिक भोजन त्यागेर चोखो एवं शुद्ध खानपान गर्ने गर्छन्। यसरी शारीरिक तथा मानसिक रूपमा शुद्ध भई, व्रत (उपास) बसेर निष्कलंक मनले मागेको वरदान पूरा हुने जनविश्वास रहिआएको छ। सन्तान प्राप्ति, पारिवारिक सुख-शान्ति तथा संकट निवारणका लागि यस मन्दिरमा भाकल गर्ने र पूजाआजा गर्नेहरूको सधैं घुइँचो लाग्ने गर्दछ।
मेलामा डडेल्धुरा र डोटीका अतिरिक्त सुदूरपश्चिमका विभिन्न जिल्ला तथा देशका अन्य भागहरूबाट समेत हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागिता रहने गर्दछ। जात्राको अवसरमा लाटा गन्याप देवताकै गाथा, स्तुति र महिमामा आधारित मौलिक देउडा, फाग, चैत तथा धुमारी गाइने हुँदा सम्पूर्ण क्षेत्र धार्मिक तथा सांस्कृतिक उत्सवमय बन्ने गर्दछ।
स्थानीय आयोजक तथा समुदायले असोज ८ गते महाभारतको शिखरमा लाग्ने यस ऐतिहासिक जाँतमा सहभागी भई लाटा गन्यापको दर्शन गर्न र पुण्यलाभ लिन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक आमन्त्रण गरेका छन्।