सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा गौरा पर्वको रौनक शुरु भएको छ । यो बर्षको गौरापर्व भोलिदेखि शुरु हुँदैछ । बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको शुरुवात गर्नेछन् ।
यो बर्षको गौरा भाद्र कृष्ण पक्षमा परेको छ । बिरुडापञ्चमीको दिन पाँच प्रकार अन्न भिजाएर गौरा पर्वको शुरुवात गर्ने प्रचलन रहेको सुर्नया –६ की हरिना अवस्थीले बताइन् । गहुँ, गहत, मास, केराउ र गुराउस गरेर पाँच प्रकारका अन्नलाई बिरुडा भन्ने गरिन्छ । बिरुडाले नै गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको छ ।
गौराका लागि थातथलोमा फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ । पहाडबाट बसाइसराई गरेर गएका तथा कामको सिलसिलामा अन्यत्र गएकाहरु पनि गौराका लागि घर फर्केकाले गाउँघरमा गौराको रौनक छाएको स्थानीय बताउँछन ।
रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेलीहरु गौराका लागि फर्कने क्रम जारी रहेको छ । गौरा पर्व यो क्षेत्रको मुख्य पर्व भएकाले गौरा मनाउन देश बाहिर रहेकाहरु पनि घर फर्कने गरेका संस्कृतिका जानकार कैलाश कुमार पाण्डेले बताए ।
गौरा पर्वमा गौरी र महेश्वरको पूजाआजा गर्दै मनाउने गरिन्छ । तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै गौरा मनाउने क्षेत्रका महिलाहरुले दुबधागो धारण गर्ने परम्परा रही आएको छ । भाद्र शुक्ल अथवा कृष्ण पञ्चमीबाट शुरु हुने गौराको मुख्यदिन दुर्वाष्टमी अर्थात अठ्यवाली हो । यो दिन ब्रतालु महिलाहरुले गौरा महेश्वरको बिरुडाले पूजाआजा गर्ने गर्दछन् ।
बिरुडापञ्चमीको भोलिपल्ट नजिकको धार तथा तलाउ लगेर बिरुडालाई धुने प्रचलन रही आएको छ । यो दिनलाई स्थानीय भाषामा नानी गौरा अर्थात नौलाकी गौरा भन्ने प्रचलन रही आएको छ । यस्तै अमुक्ताभरण सप्तमीका दिन गौरालाई भित्र्याउने चलन रही आएको छ । यो दिनलाई ठूली गौरा, भितरीकी गौरा भन्ने चलन रही आएको छ ।