काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादित अडियो संवाद सार्वजनिक भएको छ । एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारेर अश्लिल भिडियो बनाउँदै ब्ल्याकमेल गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएको अडियो सार्वजनिक भएको हो ।
जनआस्थाले सार्वजनिक गरेको अडियोमा सांसद सुनारले महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए मार्ने, घरमा आगो लगाउने, बलात्कार गर्ने र ‘मारेर रगत खाने’ धम्की दिएको सकिन्छ ।
यो अडियो संवाद सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सुनारप्रति आक्रोश व्यक्त गरेका छन् ।
अडियोमा सुनारले फोहोरी र सुन्नै नसक्ने शब्दसमेत प्रयोग गरेका छन् । सार्वजनिक अडियोमा महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् ।
सुनारले ‘आज तेरो रगत कसरी खान्छु,पख्’ भन्दै अकाउण्ट एक्टिभेट नगर्न चेतावनी दिएर गाली गरेको सुनिन्छ। दलित अधिकारकर्मीको छवि बनाएका सुनारको पृष्ठभूमि भने विवादित र शंकास्पद देखिन्छ। ‘दलितका लागि दलित अभियान नेपाल’का संयोजक सुनारमाथि अदालत जलाउने धम्की, गालीगलौज, साइबर बुलिङ र ठगीसहितका दर्जनौँ मुद्दा र उजुरी सांसद् हुनु अगाडी नै थिए ।
दैलेखका सुनार नेपाली कांग्रेसका विवादित नेता गणेश लामा निकट भएर राजनीतिमा सक्रिय थिए। उनी ठगी प्रकरणमा पक्राउ परी जेल सजायसमेत भोगिसकेका पात्र हुन् ।
सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएका कारण पक्राउ परेका उनीमाथि २०८१ असारमा सुर्खेत जिल्ला अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा समेत पक्राउ पुर्जी जारी भएको थियो।
अधिकारको आन्दोलनका नाममा सार्वजनिक मर्यादा र कानुनी शासनको खिल्ली उडाउँदै आएका सुनारका अभिव्यक्ति सांसद बनेपछिसमेत विवादमा थिए । यो अडियो सार्वजनिक भएपछि सांसद सुनुवारमाथि कारबाही गर्नुपर्ने दबाबमा सत्ताको नेतृत्वकर्ता दल रास्वपा परेको छ ।