काठमाडौँ — चाडपर्व नजिकिँदै गर्दा काठमाडौँबाट सुदूरपश्चिम जाने आन्तरिक हवाई भाडा अत्यधिक बढेपछि घर फर्किने यात्रुहरू चर्को मारमा परेका छन्।
लगातारको वर्षाका कारण राजमार्गहरूमा पहिरो खसेर स्थलमार्ग अवरुद्ध र जोखिमपूर्ण बनेको मौकामा निजी एयरलाइन्सहरूले हवाई भाडादर अचाक्ली बढाएका हुन्। काठमाडौँ–धनगढीको एकतर्फी हवाई भाडा नै २२ हजार रुपैयाँभन्दा माथि पुगेपछि धनगढी जानुभन्दा भारतको नयाँ दिल्ली जान सस्तो पर्ने भन्दै यात्रुहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।
हाल टिकट दर हेर्दा श्री एयरलाइन्सको काठमाडौँ–धनगढी रुटमा नन-रिफन्डेबल टिकट १६ हजार ७०० देखि १८ हजार रुपैयाँसम्म र रिफन्डेबल टिकट १९ हजारदेखि २२ हजार १८० रुपैयाँसम्म पुगेको छ। त्यस्तै, सामान्य अवस्थामा १० हजार ८०० रुपैयाँ हाराहारीमा पाइने काठमाडौँ–नेपालगञ्जको टिकट दर पनि बढेर १३ हजार ६९० देखि १७ हजार ७५ रुपैयाँसम्म पुर्याइएको छ। देशको आन्तरिक उडानमै १८ देखि २२ हजार रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आएपछि चाडपर्वका लागि घर फर्किने तथा आकस्मिक काममा आवतजावत गर्ने सर्वसाधारणको ढाड सेकिएको छ।
वर्षातका कारण सडक सञ्जाल बिग्रिएकाले गाडीको यात्रा जोखिमपूर्ण छ भने चाडपर्वको बेला बसको टिकट पाउन समेत धौ-धौ परिरहेको छ। यस्तो बाध्यताबीच हवाई यात्रा रोज्नुपर्ने अवस्था आए पनि टिकटको मूल्य अत्यधिक महँगो हुँदा दसैँ खर्च नै भाडामा सकिने चिन्ता यात्रुहरूमा छ। एयरलाइन्सहरूले भने चाडपर्वको समयमा एकतर्फी मात्रै यात्रुको अत्यधिक चाप हुने भएकाले भाडादर बढेको दाबी गरेका छन्। नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम भाडा सीमा (२१ हजार ६०० रुपैयाँ) को अधिकतम बिन्दु छोएर एयरलाइन्सहरूले टिकट बिक्री गरिरहेका छन्।
निर्वाचनका बेला प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम पुगेर ‘सुदूर अब दूर नाहीं, झिकै-झिकै माया तिमीलाई’ भन्दै दिएको अभिव्यक्ति स्मरण गर्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्।
सडकको दुरावस्था र चाडपर्वको मौका छोपेर ब्रह्मलुट मच्चाउने एयरलाइन्सहरूलाई कडा निगरानी र कारबाहीको दायरामा ल्याउन नागरिक उड्डयन प्राधिकरण तथा सरकारसँग माग गरिएको छ। व्यवस्था परिवर्तन भए पनि नागरिकले भोग्नुपरेको सास्ती उस्तै रहेको भन्दै सर्वसाधारणले तत्काल भाडा नियन्त्रण गर्न आग्रह गरेका छन्।