डडेल्धुरा, ८ मङ्सिर २०८३ । सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा ऐतिहासिक शक्तिपीठ डडेल्धुराको अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा आज राति ‘रतेडी’ र भोलि मुख्य मेला अर्थात् ‘दिउँसेडी’ (देहिजाँत) भव्यताका साथ मनाइँदै छ ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने यस ऐतिहासिक मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उग्रतारा क्षेत्र विकास समितिक अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिए। उनका अनुसार मन्दिर परिसरको सरसफाइ, रङरोगन तथा शृङ्गारपटारसँगै मेलामा आउने व्यापारीहरूका लागि स्टलहरूसमेत व्यवस्थापन गरिसकिएको छ ।
डडेल्धुरा सदरमुकाम बागबजारबाट करिब ४–५ किलोमिटर पश्चिमपट्टि डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग नजिकैको अग्लो तथा रमणीय फाँटमा उग्रतारा मन्दिर अवस्थित छ । सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी श्रद्धालु भक्तजनको आवतजावत हुने यस मेलालाई स्थानीय भाषामा ‘देहिजाँत’ भनिन्छ ।
अध्यक्ष साँकीका अनुसार आज राति मन्दिर परिसरमा ‘रतेडी’ मेला लाग्नेछ । परम्पराअनुसार भण्डार (भ्राण) रहेका जिलोडा, छचोडा, खनमडा र दुमडा गरी चारवटै गाउँबाट दमाहा, नरसिंहाजस्ता परम्परागत बाजागाजा र मौलिक ‘चौलो’ नृत्यसहित निस्कने ‘देउरो’ भोलि बिहानको झिसमिसे उज्यालोमा मन्दिरमा पुग्ने गर्दछ । चार गाउँबाट देउरो मन्दिरमा भित्रिएसँगै बिहानबाट मुख्य मेला अर्थात् ‘दिउँसेडी’ सुरु हुने अध्यक्ष साँकीले बताए ।
मेलाका क्रममा बिहान पूजाआजापछि धामी काँप्दै ‘भाकाबैजाली’ (आशीर्वाद तथा भविष्यवाणी) दिने, मध्याह्न १२ बजे मन्दिरबाट ‘गाँज’ निकालेर फाँटमा नचाउँदै चार दिशामा ढोग्ने र साँझ पूजाआजापछि चारवटै गाउँका डोलीसहितका देउरा आ–आफ्नो गाउँ फर्काउने मौलिक धार्मिक विधि रहिआएको छ ।
सुदूरपश्चिममा प्रसिद्ध नौ भगवतीका मन्दिरहरूमध्ये बडिमालिका, मेलौली र निगलासैनीसँगै उग्रतारा देवीलाई प्रत्यक्ष (साक्षात्कार) र देवीको उग्ररूपका रूपमा पुजिँदै आएको छ । उग्रतारा माताको दर्शन गर्नाले दैवीप्रकोप नहुने, सुख–शान्ति प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वास छ ।
उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक शिलालेख नभेटिए पनि रोचक ऐतिहासिक किंवदन्ती प्रचलित छ । किंवदन्तीअनुसार प्राचीन समयमा मन्दिर नजिकैको लटाउली गाउँका साँकी जातिका एक किसानले हलो जोत्दा हलोको फाली एउटा शिलामा ठोक्किएर निरन्तर रगतको धारा बग्न थालेको थियो । रगत रोक्न अनेक प्रयास गर्दा पनि नरोकिएपछि किसानले आफूले खान ल्याएको मासको खिचडी उक्त शिलाको घाउमा लगाउँदा रगत रोकिएको र त्यहाँ साक्षात् देवी प्रकट भएको विश्वासका साथ मन्दिर स्थापना गरी पूजाआजा सुरु गरिएको मानिन्छ । त्यतिबेला रगत बगेर बनेको खोला आज पनि मन्दिर तल ‘न्वाखोला’ का नामले चिनिन्छ।
देहिजाँत भर्न डडेल्धुरासहित कैलाली, कञ्चनपुर, कर्णाली प्रदेश र छिमेकी मुलुक भारतको उत्तराखण्ड तथा उत्तर प्रदेशका विभिन्न स्थानबाट हजारौं श्रद्धालु भक्तजनहरू आउने क्रम तीव्र भएसँगै डडेल्धुरा सदरमुकाम बागबजार र मन्दिर क्षेत्र भरिभराउ हुन थालेको छ । धार्मिक आस्थासँगै यस मेलामा स्थानीय कृषि उपज, परम्परागत हस्तकला तथा घरेलु सामग्रीहरूको समेत उल्लेख्य व्यापार व्यवसाय हुने भएकाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुग्ने गरेको छ ।