कञ्चनपुर । दोधाराचाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको पूर्वाधार निर्माणले पछिल्लो समय गति लिएको छ। निर्माण सुरु भएको करिब छ महिनामै बन्दरगाहको भौतिक प्रगति २५ प्रतिशत पुगेको जनाइएको छ। यही गतिमा काम अघि बढे नेपालतर्फका संरचना आगामी दुई वर्षभित्र पूरा हुने र भारततर्फका आवश्यक पूर्वाधारसमेत समयमै निर्माण भए तीन वर्षभित्र बन्दरगाह सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको छ।
बन्दरगाहका आवश्यक संरचना ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भारत सरकारको करिब २३७ करोड भारु लगानीमा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको हो। सम्झौताअनुसार मुख्य निर्माणको जिम्मेवारी भारतले लिएको छ भने नेपाल सरकारले भ्याट, रोयल्टीलगायतका खर्च व्यहोर्ने व्यवस्था छ।
अहिले बन्दरगाह परिसरमा प्रशासनिक भवन, गोदाम, भन्सार तथा सुरक्षा भवन, क्वारेन्टाइन चेकपोस्ट र मालसामान लोड–अनलोड गर्ने सेड निर्माण भइरहेको छ। विभिन्न संरचनाको काम एकैसाथ अघि बढाइएकाले बन्दरगाहको समग्र निर्माण प्रक्रियाले समेत गति लिएको छ।
नेपालतर्फ निर्माण तीव्र भइरहँदा भारततर्फ पनि बन्दरगाहसँग जोडिने पूर्वाधार निर्माणको तयारी अघि बढेको छ। भारतीय राष्ट्रिय राजमार्गसँग बन्दरगाहलाई जोड्न पहुँचमार्ग र फ्लाइओभर निर्माणको प्रक्रिया सुरु गरिएको छ। साथै, भारतले बन्दरगाहतर्फका थप पूर्वाधार निर्माणका लागि करिब ५०० करोड भारु लागत अनुमानसहित टेन्डर आह्वान गरेको छ।
दुवै देशतर्फका संरचना निर्धारित समयमै निर्माण सम्पन्न गर्न सकिए दोधाराचाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने बाटो सहज हुने देखिएको छ। बन्दरगाह सञ्चालनमा आएपछि नेपाल–भारतबीचको व्यापारिक आवागमन तथा मालसामान ओसारपसारका लागि नयाँ पूर्वाधार थपिने अपेक्षा गरिएको छ।