काठमाडौँ । नेपाली कांग्रेसभित्र आधिकारिकता र महाधिवेशनलाई लिएर आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शेरबहादुर देउवा पक्ष (संस्थापन पक्ष) ले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको मिति तथा कार्यतालिका सार्वजनिक गरेको छ।
संस्थापन पक्षीय ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ले आगामी मंसिर २१, २२ र २३ गते राजधानी काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने घोषणा गरेको हो।
महाधिवेशनको प्रारम्भिक खुड्किलो मानिने वडा तहको अधिवेशन भने आगामी असोज १५ गते देशभर एकसाथ सुरु गर्ने निर्णय गरिएको छ। तल्लो तहदेखि नै सांगठनिक गतिविधि अघि बढाउन देउवा पक्षले देशका विभिन्न जिल्लाहरूमा आफ्ना केन्द्रीय प्रतिनिधिहरूको कार्यविभाजन गरी खटाएको छ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइँकेलद्वारा भाद्र २७ गते जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीभित्रको वैधानिक जटिलता र संस्थापन पक्षको अडान स्पष्ट पारिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। यस्तो संवेदनशील घडीमा इतर समूहलाई ‘कथित विशेष महाधिवेशन पक्ष’को संज्ञा दिँदै संस्थापन पक्षले आपत्ति जनाएको छ।
इतर पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी समानान्तर गतिविधि सुरु गरेपछि १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिसँग नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने वास्तविक संवैधानिक र वैधानिक दायित्व रहेको देउवा पक्षको जिकिर छ।
पार्टीभित्र उत्पन्न अन्योल चिर्न गत साउन २९, ३० र ३१ गते संस्थापन पक्षीय राष्ट्रिय भेला/सम्मेलन सम्पन्न भएको थियो। सोही भेलाको निर्देशनबमोजिम भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने र असोज १५ गते वडा अधिवेशन गर्ने अन्तिम कार्यतालिका तय गरेको विज्ञप्तिमा जनाइएको छ।
अधिवेशनलाई विधिसम्मत र व्यवस्थित रूपमा सम्पन्न गर्न देउवा पक्षले तल्लो तहसम्मै समानान्तर संयन्त्रहरू खडा गर्ने रणनीति लिएको छ। जसअन्तर्गत आगामी असोज ३ गतेभित्र देशभर जिल्लादेखि वडा अधिवेशन तयारी समितिसम्म गठन गरिसक्ने समयसीमा तोकिएको छ।
यी संरचनाहरू समयमै निर्माण गर्न र चुनावी माहोल बनाउन केन्द्रबाट खटाइएका प्रतिनिधिहरूले प्रत्यक्ष समन्वय र सहजीकरण गर्नेछन्। संस्थापन पक्षले पार्टीका सबै तहका जिम्मेवार नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई महाधिवेशन सफल बनाउन आवश्यक सहयोग र सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ।
देउवा पक्षले जिल्ला–जिल्लामा संगठन परिचालन र अधिवेशन तयारीका लागि जिम्मेवारी दिएका केन्द्रीय प्रतिनिधिहरूको विवरण निम्नानुसार छ:
केन्द्रीय प्रतिनिधिहरू
पाँचथर : श्री सुर्यकुमार दाहाल
झापा : श्री महीन्द्रा कुमारी लिम्बू
संखुवासभा : श्री दिपक खड्का
तेह्रथुम : श्री सीता गुरुङ
भोजपुर : श्री उत्तम चापागाईँ
धनकुटा : श्री कमोट फागु
मोरङ : श्री भीम पराजुली
सुनसरी : श्री लक्ष्मी खतिवडा
सोलुखुम्बु : श्री सुभराम बस्नेत
खोटाङ : श्री सरस्वती बजीमय
ओखलढुंगा : श्री गोमा केसी
उदयपुर : श्री नारायण बहादुर कार्की
सप्तरी : श्री मञ्जु यादव
सिरहा : श्री सन्तोष चौधरी
धनुषा : श्री हरेश प्रसाद महतो
महोत्तरी : श्री उषा राउत
सर्लाही : श्री सपुत कार्की
रौतहट : मो. मोख्तार अहमद
बारा : श्री रमेशकुमार निरौला
पर्सा : श्री सुरेन्द्र न्यौपाने
दोलखा : श्री कुन्दनराज काफ्ले
रामेछाप : श्री पूर्णमान तामाङ (कान्छाराम)
सिन्धुपाल्चोक : श्री मोहनबहादुर बस्नेत
काभ्रे : श्री गणेश लामा
चितवन : श्री कञ्चनचन्द्र वादे
ललितपुर : श्री मदनबहादुर अमात्य
काठमाडौँ : श्री कल्याणी रिजाल
गोरखा : श्री नवराज गुरुङ
लमजुङ : श्री पुष्प पराजुली
तनहुँ : श्री मणिभद्र शर्मा
कास्की : श्री शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम
मनाङ : श्री सीता देवकोटा
मुस्ताङ : श्री किरण पौडेल
पर्वत : श्री पोषनाथ शर्मा
स्याङ्जा : श्री गोविन्द भट्टराई
म्याग्दी : श्री ऋषि काफ्ले
बागलुङ : श्री सरस्वती अर्याल तिवारी
नवलपुर : श्री गुरु बराल
नवलपरासी : श्री विकास घिमिरे
पाल्पा : श्री कृष्ण बस्याल
अर्घाखाँची : श्री वावुराम पौडेल
गुल्मी : श्री देउवहादुर थापा
रोल्पा : श्री मान वहादुर खत्री
प्युठान : श्री ईश्वर सिंह विष्ट
बर्दिया : श्री जग्गा पाण्डे
डोल्पा : श्री भैरव बहादुर शाही
जुम्ला : श्री भीमनिधि हमाल
मुगु : श्री तिलकबहादुर मल्ल
हुम्ला : श्री बखतबहादुर शाही
कालिकोट : श्री दमन बहादुर शाही
बाजुरा : श्री हर्कजंग वहादुर सिंह
बझाङ : श्री सिताराम जोशी
डोटी : श्री अर्जुन ताम्राकार
अछाम : श्री कविराज पण्डित
दार्चुला : श्री सन्तोष ऐतवाल
बैतडी : श्री चिन्तामणि भट्ट
डडेल्धुरा : श्री टेक बहादुर रैका
कञ्चनपुर : श्री प्रदीप देउवा
कैलाली : श्री देवराज जोशी
देउवा पक्षले काठमाडौँको चुनदेवी, महाराजगन्जस्थित सम्पर्क कार्यालयबाट छुट्टै कार्यतालिका सार्वजनिक गरेसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण नयाँ मोडमा पुगेको छ।
अदालतमा आधिकारिकतासम्बन्धी फैसला नआउँदै इतर पक्षले विशेष महाधिवेशनको प्रक्रिया थालेपछि त्यसलाई काउन्टर दिन संस्थापन पक्षले वडा तहदेखि नै आफ्नो पकड सुदृढ बनाउने रणनीति अख्तियार गरेको प्रस्ट हुन्छ। दुवै पक्ष आ–आफ्नै कार्यतालिका र प्रतिनिधि लिएर मैदानमा उत्रिने स्थिति बनेपछि तल्लो तहका कार्यकर्तामा भने थप अन्योल र विभाजनको जोखिम बढेको देखिएको छ।
तथापि, देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व नै वैधानिक भएको दाबी गर्दै खटाइएका प्रतिनिधिहरूलाई तत्काल कार्यक्षेत्रमा पुगेर तयारी तीव्र पार्न कडा निर्देशन दिएको छ।