डडेल्धुरा । शिक्षालाई विकासको आधार मान्दै अजयमेरु गाउँपालिकामा तेस्रो शैक्षिक सम्मेलन सुरु भएको छ। “शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हो, शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो” भन्ने मूल नारासहित सुरु भएको सम्मेलनले गुणस्तरीय शिक्षासँगै विद्यालयमा विद्यार्थी टिकाइराख्ने चुनौतीलाई मुख्य बहसको विषय बनाएको छ।
गाउँपालिकाले हरेक वर्ष शिक्षा क्षेत्रमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्दै आए पनि विद्यार्थी संख्या घट्दै जानु र शैक्षिक उपलब्धि अपेक्षाअनुसार सुधार हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ। यही यथार्थलाई स्वीकार्दै सम्मेलनमा शिक्षक, अभिभावक, जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाबीच समाधानका उपायबारे छलफल भइरहेको छ।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले विद्यार्थी विद्यालयमा टिकाइराख्न सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको बताए। शिक्षा विकास निर्देशनालय डोटीका महानिर्देशक दुर्गादत्त विष्टले प्रविधिमैत्री, व्यवहारिक र उद्यमशीलतामुखी शिक्षाको आवश्यकता औंल्याउँदै समयअनुसार शिक्षा प्रणाली परिमार्जन गर्नुपर्ने धारणा राखे।
अजयमेरुमा पर्याप्त शिक्षक, भौतिक पूर्वाधार र समुदायको सहयोग सकारात्मक पक्ष भए पनि नियमित उपस्थिति, अभिभावकको सहभागिता, एसईई नतिजा सुधार तथा प्रारम्भिक सिकाइ सुदृढीकरण अझै चुनौतीका रूपमा रहेका छन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वर्षे गाउँ शिक्षा योजनाको समीक्षा, बालमैत्री तथा हरित विद्यालय, सूचना प्रविधिको प्रयोग, अनिवार्य तथा निःशुल्क शिक्षा लगायतका विषयमा छलफल भइरहेको छ। सम्मेलनबाट प्राप्त सुझावलाई आगामी शैक्षिक नीति, कार्यक्रम र बजेट निर्माणमा समावेश गरिने गाउँपालिकाले जनाएको छ।
शिक्षामा लगानी बढाउने मात्र होइन, त्यसको प्रतिफल विद्यार्थीको सिकाइ र भविष्यमा देखिने गरी सुधार ल्याउने लक्ष्यसहित अजयमेरुले थालेको यो बहस ग्रामीण शिक्षा सुधारको एउटा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।