विकासको परिभाषा के हो? कालोपत्रे सडक, बिजुलीका पोल, खानेपानीका धारा, ठूला विद्यालय भवन, अस्पताल र सिँचाइका संरचना निर्माण हुनु मात्रै विकास हो कि ती संरचनाको उपयोग गर्ने मानिस गाउँमै हुनु पनि विकासको अनिवार्य शर्त हो? आज नेपालको ग्रामीण बस्तीले यही गम्भीर प्रश्न राज्यसामु उभ्याएको छ।
हिजो दुर्गम भनेर चिनिएका गाउँमा आज सडक पुगेका छन्। धेरै बस्तीमा बिजुली बलिसकेको छ। खानेपानीका धारा छन्। स्वास्थ्य चौकी र अस्पतालका भवन बनेका छन्। विद्यालयका आकर्षक भवन ठडिएका छन्। सिँचाइका कुलो, पोखरी र अन्य पूर्वाधार निर्माण भएका छन्। हेर्दा गाउँ विकासको बाटोमा अगाडि बढेको देखिन्छ।
तर यही विकासको अर्को तस्वीर निकै पीडादायी छ।
गाउँका घरहरूमा ताल्चा लागेका छन्। आँगनमा खेल्ने बालबालिका छैनन्। विद्यालयका कक्षाकोठा विद्यार्थीको अभावमा सुनसान हुँदैछन्। खेतबारी बाँझिँदैछन्। उत्पादन गर्ने हातहरू रोजगारीको खोजीमा शहर, विदेश र बजारतर्फ लागेका छन्। वृद्धवृद्धा र केही परिवार मात्रै गाउँ कुरेर बसिरहेका छन्।
पूर्वाधार गाउँ पुग्यो, तर अवसर गाउँ पुगेन। यही नै आजको ग्रामीण संकटको मूल प्रश्न हो।
सडक बनाएर मात्र गाउँमा मानिस अडिँदैनन्। घरमा बिजुली बालेर मात्र युवाले भविष्य देख्दैनन्। विद्यालयको भवन बनाएर मात्र विद्यार्थी फर्किँदैनन्। अस्पतालको भवन बनाएर मात्र गाउँ सुरक्षित हुँदैन। मानिसलाई गाउँमै बस्ने आधार चाहिन्छ—रोजगारी, आम्दानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, बजार र सम्मानजनक जीवनको अवसर।
वर्षौँदेखि विकासको ठूलो हिस्सा भौतिक पूर्वाधार निर्माणमै केन्द्रित भयो। तर पूर्वाधार बनेपछि त्यसबाट आर्थिक गतिविधि कसरी बढाउने, स्थानीय उत्पादनलाई बजारसँग कसरी जोड्ने, युवालाई गाउँमै रोजगारी कसरी दिने र कृषिलाई कसरी व्यावसायिक बनाउने भन्ने प्रश्न अपेक्षाकृत कमजोर रह्यो।
परिणामतः गाउँमा सडक पुग्यो, तर सडकले गाउँबाट मानिस पनि बोकेर लग्यो।
यो अवस्थालाई केवल युवाहरू विदेश गए भनेर व्याख्या गरेर पुग्दैन। यो राज्यको विकास नीतिमाथि पुनर्विचार गर्नुपर्ने संकेत हो। गाउँमा करोडौँ खर्च गरेर बनाइएका संरचनाहरू प्रयोगविहीन हुँदै गए भने त्यो विकासको पूर्ण सफलता होइन।
अब विकासको प्राथमिकता ‘कति किलोमिटर सडक बन्यो?’ भन्ने प्रश्नबाट ‘त्यो सडकले गाउँमा कति रोजगारी र अवसर सिर्जना गर्यो?’ भन्नेतर्फ मोडिनुपर्छ। बाँझो खेतलाई उत्पादनमा फर्काउने नीति चाहिन्छ। स्थानीय उत्पादनको सुनिश्चित बजार चाहिन्छ। कृषि, पशुपालन, पर्यटन, घरेलु उद्योग र साना उद्यमलाई गाउँमै टिक्ने वातावरण बनाउनुपर्छ। विद्यालयमा विद्यार्थी टिकाउने र गुणस्तरीय शिक्षा दिने व्यवस्था चाहिन्छ। स्वास्थ्य सेवा भरपर्दो हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा—युवाले गाउँमै बसेर भविष्य बनाउन सक्छु भन्ने विश्वास गर्न सक्ने वातावरण निर्माण हुनुपर्छ।
किनकि गाउँलाई सडकले होइन, अवसरले जोगाउँछ।
विकासको अन्तिम उद्देश्य भवन, सडक र संरचना थप्नु मात्र होइन; मानिसको जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो। यदि विकासका संरचना बढ्दै जाने तर बस्तीका मानिस घट्दै जाने हो भने हामीले विकासको दिशा सही छ कि छैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्छ।
आज रित्तिँदै गरेको गाउँ केवल एउटा गाउँको समस्या होइन। यो देशको सामाजिक, आर्थिक र जनसांख्यिक भविष्यसँग जोडिएको प्रश्न हो। गाउँमा विकास पुग्नु उपलब्धि हो। तर विकास पुगेपछि पनि गाउँमा मानिस नअडिनु भने चेतावनी हो।
अब राज्यले गाउँमा पूर्वाधार पुर्याउने मात्र होइन, गाउँमा मानिसहरु बस्न सक्ने उपयुक्त वातावरण र नीति बनाउनेतर्फ ध्यान दिन जरुरी छ।