डडेल्धुरा - डडेल्धुराको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको परशुराम क्षेत्रमा अवस्थित परशुराम संस्कृत विद्यापीठमा चरम भ्रष्टाचार, अनियमितता,लापर्बाही र केही व्यक्तिको व्यक्तिगत स्वार्थ हाबी भएको गम्भीर आरोप लागेको छ।
वि.सं. २०७४ साल भदौ ३० गते बिधान अनुसार तीन वर्षका लागि गठन गरिएको मीनबहादुर चन्द नेतृत्वको सञ्चालक समितिले यतिबेला आठ वर्षभन्दा बढी समयसम्म संस्थामाथि नियम बिपरित नियन्त्रण कायम राख्दा विद्यापीठको शैक्षिक, भौतिक र प्रशासनिक अवस्था जर्जर बनेको सरोकारवालाहरूको भनाइ छ ।
कार्यकाल सकिएपछि पनि नयाँ समिति गठन नगरी सत्ता र शक्तिको आडमा पुरानै समिति निरन्तर रहँदा विद्यापीठ एक दशकजति अनिर्णयको बन्दी बनेको स्थानीयहरूले गुनासो गरेका छन्।
संस्कृत महाविद्यालय परशुराम ५ परिगाउँका प्रधानाध्यापक पदमराज जोशीले आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटसमा गुनासो पोख्दै यस्ता गतिविधिप्रति विरोध र आपत्ति जनाएका छन्। चन्द परशुराम संस्कृत महाविद्यालयका अध्यक्ष तथा परशुराम क्षेत्र विकास समितिका अध्यक्षसमेत हुन्।
उनिमाथी लागाइएको आरोपअनुसार, परशुराम नगरपालिकाबाट विद्यापीठका लागि प्राप्त फर्निचर तथा जिन्सी सामग्री वर्षौँदेखि बेपत्ता पारिएका छन ।
आर्थिक वर्ष २०७७/७८ मा खरिद गरिएका दराजहरू स्थानीय व्यापारीको पसलमा भेटिएका छन भने समितिकै सदस्यहरूले अफिसका कुर्सी आफनो घरमा प्रयोग गरिरहेको स्वीकार गरेका छन। जसले यहाँको अनियमिततालाइ थप पुष्टि गर्ने स्थानीयको दाबी छ।
दर्जनौँ प्लास्टिकका कुर्सी, सोफा सेट र अफिस टेबलको कुनै लेखाजोखा छैन भने विद्यापीठका लागि ल्याइएको एक हजार लिटर क्षमताको पानी ट्याङ्की र पाँच सय मिटरभन्दा लामो पोलिथिन पाइप अध्यक्ष चन्दले निजि रुपमा प्रयोग गरेको आरोप लागेको छ।
महाकाली नदीको उच्च जोखिमयुक्त र प्राविधिक रूपमा अनुपयुक्त क्षेत्रमा खेलमैदान निर्माण गर्ने नाममा गरिएको लगानीसमेत परिणामहीन बनेको जनाइएको छ।
भवन जीर्ण हुँदा पनि मर्मतसम्भारमा ध्यान नदिइएको, आर्थिक अभावका कारण विद्यार्थी र कर्मचारीहरूले उधारोमा काम चलाउनुपर्ने अवस्था आएको भन्दै नेतृत्व तहको उदासीनताप्रति आलोचना गरिएको छ।
विद्यापीठ परिसरमा रोपिएका धार्मिक महत्त्वका रुद्राक्षका बिरुवाको रेखदेखमा खटिएकी एक असहाय महिलाले २० महिनादेखि पारिश्रमिक नपाएको र अपमानित भएको आरोप पनि सार्वजनिक भएको छ।
धार्मिक आस्थाको केन्द्र मानिने विद्यापीठमा वेद–पुराण पाठ र शिवलिङ्गको पूजा–अर्चनामा समेत अवरोध गरिएको, चाबी लगाएर धार्मिक अनुष्ठान रोकिएको गुनासो स्थानीयले गरेका छन्।
सार्वजनिक भएका यी आरोप र तथ्यका आधारमा परशुराम संस्कृत विद्यापीठलाई तत्कालै वर्तमान समितिको नियन्त्रणबाट मुक्त गरी निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण र नयाँ नेतृत्व चयन गर्नुपर्ने माग स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले गरेका छन।