डडेल्धुरा - डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आर्थिक बर्ष २०८२/ ०८३को समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै आर्थिक तथा भौतिक प्रगतिको विवरण सार्वजनिक गरेको छ।
स्थानीय तहमा सुशासन, पारदर्शिता र नागरिकप्रतिको जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले वार्षिक बजेट, पूर्वाधार, कृषि, रोजगारी तथा सामाजिक सुरक्षाका प्रगति विवरण पेस गरेको हुन। वेस्टर्न मिडिया प्रा.ली.ले सहजीकरण गरेको उक्त कार्यक्रममा पालिकाले विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, विद्यालय, कृषक र वडालाई सम्मान गर्नुका साथै गाउँ फर्किएर उद्यम गर्न चाहने युवालाई आर्थिक सहयोग सहित सम्मान समेत गरेको छ।
प्रस्तुत वित्तीय विवरण अनुसार गाउँपालिकाको कुल विनियोजित ५० करोड ९४ लाख रुपैयाँ बजेटमध्ये ४६ करोड ६५ लाख रुपैयाँ निकासा भएको थियो। जसअन्तर्गत चालुतर्फ २५ करोड ८९ लाख (७९.५६ प्रतिशत) र पुँजीगततर्फ १२ करोड ७४ लाख रुपैयाँ (६९.१९ प्रतिशत) खर्च भएको जनाएछ। पालिकाको समग्र वित्तीय प्रगति विनियोजनका आधारमा ७५.८१ प्रतिशत र वास्तविक आम्दानीका आधारमा ८२.७९ प्रतिशत पुगेको छ। यसैगरी, ५२ लाख रुपैयाँको लक्ष्य राखिएको आन्तरिक राजस्व संकलनमा लक्ष्यभन्दा बढी ५५ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ। राजस्व संकलनमा वडा नं. १ ले सबैभन्दा बढी ११ लाख १२ हजार रुपैयाँ संकलन गरेकोमा उक्त वडालाई कार्यक्रममा उत्कृष्ट वडाका रूपमा सम्मान गरिएको छ। आर्थिक अनुशासनतर्फ पालिकाले अघिल्ला वर्षहरूको समेत गरी १ करोड ४ लाख रुपैयाँ बेरुजु फछ्र्यौट गर्न सफल भएको छ।
भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई पालिकाले प्रमुख प्राथमिकतामा राखेको छ। संघीय सरकारको साझेदारीमा ७ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माणाधीन प्रशासकीय भवनको ९० प्रतिशत कार्य सम्पन्न भएको छ। यस्तै, कुल १३ करोड ३६ लाख रुपैयाँ लागतमा १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भई मेडिकल अधिकृतसहित सेवा सुचारु भइसकेको छ। सडक पूर्वाधारतर्फ ५१ लाख ६२ हजार रुपैयाँ खर्च गरेर स्तरोन्नति गर्नुका साथै विभिन्न रणनीतिक सडक तथा वडा नं. २ को खेलमैदानको विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार गरिएको छ। प्रदेश सरकारको सशर्त र समपूरक अनुदानबाट मन्दिर संरक्षण, तटबन्ध, सडक स्तरोन्नति र विद्यालय घेराबारका कामहरू सम्पन्न भएका छन्।
कृषि तथा रोजगारीका क्षेत्रमा पालिकाले नवप्रवर्तनकारी कार्यक्रम अघि सारेको छ। बाहिरबाट गाउँ फर्केर आफ्नै ठाउँमा केही गर्न चाहनेलाई प्रोत्साहन गर्ने नीतिअनुसार ४ जनालाई जनही ५० हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराइएको छ। कृषि क्षेत्रमा १ करोड ७ लाख रुपैयाँ खर्च गर्दै १०६ किसानलाई टनेल, प्लास्टिक र उपकरण सहयोग गरिएको छ भने ५०६ रोपनी जग्गामा आलु खेती विस्तार गरिएको छ। कार्यक्रममा उत्कृष्ट उत्पादन गर्ने कृषकहरूलाई सम्मान समेत गरिएको थियो। यस्तै, लघु उद्यम कार्यक्रममार्फत २० जना नयाँ उद्यमी सिर्जना हुनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ४६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि पालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई नगद १ लाख रुपैयाँसम्मको पुरस्कार तथा सम्मान प्रदान गरेको छ। पालिकाले सामाजिक सुरक्षातर्फ २ हजार २०३ लाभग्राहीलाई ७ करोड ५४ लाख रुपैयाँभन्दा बढी भत्ता वितरण गरेको छ।
कार्यक्रममा प्रस्तुत पञ्जीकरण विवरण अनुसार गाउँपालिकामा ४ जना मात्र बसाइँ सरेर आउँदा ३३१ जना (११६ परिवार) पालिका छोडेर गएको तथ्यांक सार्वजनिक भएको छ। नागरिकहरूले बसाइँसराइ रोक्न स्थानीयस्तरमै थप रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सुझाव दिएका छन् भने पालिका अध्यक्ष इन्द्र बहादुर कार्कीले नागरिकका सुझावलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन।