डडेल्धुरा - डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले रसुवालगायतका जिल्लामा भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम जनप्रतिनिधि, गाउँपालिकाअन्तर्गतका कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत स्थायी, करार र अन्य सबै कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट कट्टा गरी संकलन गरिनेछ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुगेको भन्दै गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। कार्यपालिका बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसैबीच, बाढीका क्रममा सम्पर्कविहीन भएका गन्यापधुरा गाउँपालिका–२ का सुरज महताको खोजी तथा उद्धारका लागि उनको परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। त्यस्तै, गन्यापधुराबाट बसाइँसराइ गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका बस्दै आएका हिक्मतबहादुर पाल र रमेशराज जोशीका परिवारलाई पनि खोज तथा उद्धारका लागि जनही २५/२५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ। प्राकृतिक विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्न गाउँपालिकाले सम्पूर्ण नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था र सरोकारवालाहरूलाई अपिल गरेको छ।