धनगढी- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको व्यंग्यात्मक स्टाटसको नेकपा युवा नेता करन साउदले प्रतिवाद गरेका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्ने आशयको व्यंग्यात्मक टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कांग्रेस महाधिवेशनमा आफू र सरकारमाथि भएको आलोचनाप्रतिको प्रतिक्रियाका रूपमा आएको देखिन्छ।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा पक्ष–विपक्षमा प्रतिक्रिया आउन थालेका छन्। यही क्रममा नेकपा युवा नेता साउदले ‘धन्न क. प्रचण्ड’ भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिकालाई जोडेर बालेनको अभिव्यक्तिको प्रतिवाद गरेका हुन्।
साउदले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा प्रचण्डले देशमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न भूमिका खेलेका कारण आज मुलुकमा मेयरदेखि प्रधानमन्त्रीसम्म बन्ने अवसर सिर्जना भएको आशय व्यक्त गरेका छन्।
उनको स्टाटसमा लेखिएको छ, ‘धन्न क. प्रचण्ड ले देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएछ र पो मेयर र प्रधानमन्त्री बन्न पाएँ, नत्र तर्फ हान्दै बित्ने जिन्दगी बित्ने रहेछ।’ यसअघि कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले कांग्रेस सभापति गगनकुमार थापालाई देशको नेतृत्व गर्ने अवस्थामा पुगेको बताएका थिए। उनले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफूलाई खुसी लागेको बताएका थिए।
यसरी प्रधानमन्त्री शाहको व्यंग्यात्मक स्टाटसपछि साउदको ‘धन्न क. प्रचण्ड’ प्रतिक्रियाले सामाजिक सञ्जालमा राजनीतिक बहसलाई थप चर्चामा ल्याएको छ।