काठमाडौँ । काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रा.लि.को ना.८ ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै YCL नेपाल र YCL नेपाल विशेष प्रदेशको संयुक्त टोलीले दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेको छ।
चालकको लापरबाहीका कारण भएको उक्त दुर्घटनामा उर्मिला भट्ट र नीलम भट्ट ओझा गम्भीर घाइते हुनुभएको थियो।
घाइते दिदीबहिनीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा भेटघाट गर्न नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मञ्जु बम, YCL नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली, YCL विशेष प्रदेश अध्यक्ष नवीन थापा र YCL विशेष प्रदेश सुदूरपश्चिम जिल्ला अध्यक्ष आदित्य दाहालसहितको संयुक्त टोली अस्पताल पुगेको थियो।
अस्पतालमा भेटघाटका क्रममा संयुक्त टोलीले दुर्घटनापश्चात् सम्बन्धित निकाय—प्रहरी, स्थानीय प्रशासन, यातायात कम्पनी, बसधनी तथा बीमा कम्पनीहरूले देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। आफ्नो जिम्मेवारी र कर्तव्यबाट पन्छिन खोजेको भन्दै टोलीले दोषी चालक तथा जिम्मेवार पक्षमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइतेहरूको सम्पूर्ण उपचार खर्च, उचित क्षतिपूर्ति र बीमा सुविधा अविलम्ब उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ।
घाइते दिदीबहिनीहरूको शीघ्र, पूर्ण र सफल स्वास्थ्यलाभको कामना गर्दै टोलीले दुःखको यस कठिन घडीमा पीडित परिवारको साथमा रहने र न्यायका लागि निरन्तर पहल गर्ने ऐक्यबद्धता व्यक्त गरेको छ।