डडेल्धुरा - कित जोत हलो, कि छोड थलो, होइन भने अब छैन भलो’ भन्ने ऐतिहासिक किसान क्रान्तिको नाराका साथ तत्कालीन हुकुमी र सामन्ती शासन व्यवस्थाविरुद्ध क्रान्तिको बिगुल फुक्ने अमर सहिद भीमदत्त पन्तको आज ७३औँ स्मृति दिवस मनाइएको छ।
डडेल्धुराको सामान्य किसान परिवारमा जन्मिएर देशव्यापी रूपमा किसान र उत्पीडित वर्गको हक–अधिकारका लागि विद्रोहको नेतृत्व गरेका पन्तलाई नेपाली क्रान्तिको इतिहासमा एक निडर र आदर्श नेताका रूपमा लिइन्छ।
तत्कालीन समयमा सुदूरपश्चिम क्षेत्रमा व्याप्त कमैया, हलिया, चाकरी प्रथा तथा सामन्ती शोषणविरुद्ध भीमदत्त पन्तले कडा आवाज उठाउनुभएको थियो। उहाँको मुख्य उद्देश्य केवल राजनीतिक परिवर्तन मात्र थिएन, सर्वसाधारण किसान र श्रमिकलाई आर्थिक तथा सामाजिक शोषणबाट मुक्ति दिलाउनु पनि थियो।
भूमिमाथि वास्तविक किसानको अधिकार हुनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै उहाँले सामन्तहरूले हडपेको जमिन कब्जा गरी वास्तविक किसानलाई बाँड्ने क्रान्तिकारी कदम चाल्नुभएको थियो। यसका साथै गरिब तथा अनिकालपीडित जनतालाई खाद्यान्न उपलब्ध गराउन उहाँले सरकारी तथा सामन्तका खाद्यान्न भण्डार फोडेर जनतामा बाँड्ने कार्यको नेतृत्व गर्नुभयो। जातीय तथा सामाजिक विभेदविरुद्ध सधैँ उभिनुभएका पन्तले उत्पीडित समुदायलाई आफ्ना अधिकारका लागि सङ्गठित हुन प्रेरित गर्नुभयो।
वि.सं. २०१० सालमा सरकार र स्थानीय सामन्तहरूको मिलेमतोमा सञ्चालित सैन्य कारबाहीका क्रममा भीमदत्त पन्तको डडेल्धुराको आलिताल–४, गल्लेक क्षेत्रमा हत्या गरिएको थियो। उहाँको हत्यापछि जनतामा त्रास फैलाउन उहाँको काटिएको टाउको डडेल्धुरा बजारमा झुन्ड्याइएको थियो। उहाँको भौतिक शरीर समाप्त पारिए पनि उहाँले बालेको क्रान्तिको ज्वाला आजसम्म निभेको छैन। अमर सहिद भीमदत्त पन्तको विचार र निष्ठा आजका राजनीतिक दल तथा नेतृत्वका लागि मार्गदर्शन बनिरहेका छन्।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना भइसके पनि भीमदत्त पन्तले अघि सारेका किसान तथा श्रमिकका आधारभूत मुद्दाहरू अझै उत्तिकै सान्दर्भिक छन्। अझै पनि मुलुकका वास्तविक किसानसँग आफ्नै जमिन छैन भने हलिया र कमैया मुक्ति घोषणा भए पनि उनीहरूको पुनर्स्थापना तथा जीविकोपार्जनको ठोस व्यवस्था हुन सकेको छैन।
किसानले मल, बिउ तथा आफ्ना उत्पादनको उचित मूल्य नपाउने समस्या आज पनि उस्तै छ, जसका लागि भीमदत्त पन्तको क्रान्तिकारी सोच र अडानबाट प्रेरणा लिनु आवश्यक छ। भीमदत्त पन्त केवल एक व्यक्ति वा नेता मात्र नभई उत्पीडित वर्गको मुक्ति र स्वाभिमानका प्रतीक हुनुहुन्छ।