डडेल्धुरा- देशका विभिन्न तराई जिल्लामा पछिल्लो समय देखिएका धार्मिक असहिष्णुता र सामाजिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै डडेल्धुरामा आइतबार शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ।
डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा बसपार्क–बागबजारदेखि तुफानडाँडासम्म आयोजित र्यालीमार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी भाइचाराको सन्देश प्रवाह गरिएको हो।
र्यालीपछिको सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष दीपकबहादुर महतले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सबैको साझा दायित्व भएको बताए।
उनले पछिल्लो समय देशका केही स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा असर पर्ने गतिविधि देखिएको भन्दै धार्मिक आस्था, जातीय तथा सामुदायिक भावनामा खलल पुर्याउने, हिंसा र द्वेष फैलाउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट पारे।
अध्यक्ष महतले उद्योगी–व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयम, आपसी सम्मान र सहिष्णुताका साथ सामाजिक सद्भाव कायम राख्न आग्रह गरे।
उनले अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिको पछि नलागी सत्यतथ्यमा आधारित सूचना मात्र आदानप्रदान गर्न तथा शान्ति, सामाजिक एकता र भाइचाराको वातावरण जोगाउन सबै पक्षलाई अपिलसमेत गरे।
सद्भाव र्यालीमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला उद्यमी तथा विभिन्न संघसंस्थाका पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो।