आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदै छ। यस दिन ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालय, गुरुकुल, धार्मिक तथा सामाजिक संस्थाहरूमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।
तन्त्रशास्त्र र धर्मशास्त्रअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउने व्यक्तित्वलाई गुरु मानिन्छ। शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा वर्णन गरिएको छ भने ‘आचार्यदेवो भव’ भन्ने मान्यताअनुसार गुरुको स्थान माता–पितासरह सम्माननीय मानिन्छ।
आजकै दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणका रचनाकार महर्षि वेद व्यासको जन्मजयन्ती पनि मनाइन्छ। महाभारतका रचनाकार वेद व्यासले ‘परोपकार नै धर्म हो र अरूलाई पीडा दिनु पाप हो’ भन्ने मानवतावादी सन्देश दिएका थिए।
गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा देशभरका शिक्षालय, गुरुकुल तथा धार्मिक संस्थाहरूमा गुरु सम्मान, पूजाआजा, प्रवचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। यसै क्रममा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष समारोह आयोजना गरेको जनाएको छ। यस पर्वले गुरु–शिष्य परम्परा, ज्ञान, संस्कार र नैतिक मूल्यप्रति सम्मान व्यक्त गर्दै समाजमा शिक्षा र सदाचारको महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ।