डडेल्धुरा, २९ असार — राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई डडेल्धुराको आयोजनामा १० वर्षे परियोजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको सभाहलमा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा परियोजनाको १० वर्षे अवधिमा हासिल भएका उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रममा इकाईका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेतले डडेल्धुरा र डोटीको समग्र कृषि बस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो भने विभिन्न स्थानीय तहका कृषि तथा पशुपंक्षी शाखा प्रमुखहरूले आ-आफ्नो पालिकाको प्रगति विवरण र अनुभव प्रस्तुत गर्नुभएको थियो।
प्रमुख बस्नेतका अनुसार परियोजनाको १० वर्षे अवधिमा दुवै जिल्लाका स्थानीय तहहरूलाई समेट्दै कृषिको आधुनिकीकरण, बजारीकरण र पूर्वाधार विकासमा कुल ४२ करोड रुपैयाँ खर्च भएको छ। यस अवधिमा ५५० वटा साना तथा मझौला सिँचाइ आयोजनाहरूको निर्माण एवं सुधार गरिएका छन्, जसले किसानहरूलाई वर्षैभरि खेती गर्न सहज बनाएको छ। परियोजनाको सबैभन्दा ठूलो सफलता आलु खेतीमा देखिएको छ। परियोजना सुरुआत हुँदा १२१ हेक्टरमा मात्र सीमित रहेको आलु खेती ८२७ प्रतिशतले बढेर १,१२२ हेक्टर पुगेको छ। डडेल्धुरामा आलुको उत्पादकत्व ३३.५० मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन १७.२० मेट्रिक टन रहेको राष्ट्रिय औसतभन्दा दोब्बर बढी हो।
आलु सुपरजोन कार्यक्रममार्फत प्रविधि विस्तार, उन्नत बीउको प्रयोग, सिँचाइ र यान्त्रिकीकरणका कारण आलु उत्पादनमा गत वर्षको २२.२३ मेट्रिक टनबाट बढेर ३३.३६ मेट्रिक टनसम्म गरी ३०.८३ प्रतिशतले वृद्धि भएको छ।
आलुको व्यावसायिकतासँगै निकासी र आम्दानीमा पनि उत्साहजनक नतिजा देखिएको छ। चालु आर्थिक वर्षमा मात्र डडेल्धुराबाट २,०४७.५ कुन्टल बीउ आलु बझाङ, बैतडी, डोटी, अछाम, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा बिक्री गरी किसानहरूले १ करोड ३३ लाख ८ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन्। यसका साथै आलु भण्डारणका लागि प्रति किलो दुई रुपैयाँ अनुदान सहयोग दिइँदा हाल हिउँदे र वर्षे दुवै सिजनमा नियमित रूपमा ३५० मेट्रिक टन आलु शीत भण्डारमा भण्डारण हुने गरेको छ।
आलुबाहेक अन्य बाली र पशुपंक्षी क्षेत्रमा पनि उल्लेख्य सुधार भएको छ। समीक्षा विवरण अनुसार भटमासको क्षेत्रफल ५०० बाट ६५० हेक्टर र मसला बाली अन्तर्गत अदुवा तथा बेसार खेती ४०० बाट ५०० हेक्टर पुगेको छ। साथै, तरकारी तथा सुन्तलाजात फलफूलमा पनि व्यावसायिक खेती विस्तार भएको छ। कार्यक्रममा प्लास्टिक टनेल निर्माण, यान्त्रिकीकरणका लागि मिनिटिलर/पावर टिलर सहयोग, नर्सरी स्थापना, गोठ तथा भकारो सुधार र माछा पोखरी तथा मत्स्य ह्याचरी निर्माण जस्ता पूर्वाधार र प्रविधिजन्य कार्यहरूमा पनि राम्रो प्रगति भएको तथ्याङ्क प्रस्तुत गरिएको छ।
परियोजनाको १० वर्षे अवधि पूरा भई अन्तिम बर्षमा पुगेको सन्दर्भमा आगामी आर्थिक वर्षका लागि भने बजेटमा ५० प्रतिशत कटौती गरिएको जानकारी कार्यालय प्रमुख बस्नेतले दिनुभयो। परियोजनाले कृषि क्षेत्रमा ल्याएको यान्त्रिकीकरण, सिँचाइ सुविधा र व्यावसायिकताले किसानहरूको जीवनस्तर उकास्न र डडेल्धुरालाई कृषि उत्पादनको हबको रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाको निष्कर्ष छ।