डडेल्धुरा: नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपनि डडेल्धुराका निजी पेट्रोलपम्पहरूले उपभोक्तामाथि मनपरी गरेका छन्। मूल्य घटेको सूचना पाउन अघि नै जिल्लाका पेट्रोलपम्पहरू— उग्रतारा आयल स्टोर र बिरबेताल आयल स्टोर— ले घटेको मूल्यमा तेल बिक्री गर्न त परै जावस इन्धन नै नभएको भन्दै वितरण ठप्प पारेका छन्।
स्थानीय उपभोक्ताहरू पम्प सञ्चालकहरूको यस्तो दोहोरो चरित्रप्रति आक्रोशित बनेका छन्। उपभोक्ताको गुनासो छ, "जब अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्छ, तब हतार-हतार रातारात मूल्य बढाएर बिक्री गर्ने पम्पहरू, अहिले मूल्य घट्दा भने वितरण नै बन्द गरेर उपभोक्तालाई सास्ती दिइरहेका छन्।"
पेट्रोलियम पदार्थको भाउ बढ्ने सूचना पाउनेबित्तिकै सक्दो स्टक राख्ने र भाउ घट्ने सूचना आउनासाथ निगमबाट तेल नल्याउने वा बिक्री बन्द गर्ने पम्प सञ्चालकहरूको यो प्रवृत्तिले उपभोक्ताको अधिकारमाथि ठाडो प्रहार गरेको छ।
दैनिक उपभोग्य वस्तुमा भइरहेको यो मनपरी र कालोबजारी नियन्त्रण गर्नुपर्ने सम्बन्धित निकायहरू भने हालसम्म मौन छन्। स्थानीय प्रशासन र अनुगमनकारी निकायले कुनै ठोस कदम नचाल्दा उपभोक्ताहरूले सास्ती खेप्नुपरेको छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार, यो कार्य उपभोक्तामाथिको गम्भीर अपराध हो। उनले भने, "भाउ बढ्दा हतार-हतार स्टोर गर्ने, तर भाउ घट्ने बित्तिकै बिक्री बन्द गर्ने पम्प सञ्चालकहरूको शैली पूर्णतः गैरजिम्मेवार छ। यसमा सूचना चुहाउने निगमका कर्मचारी र पम्प सञ्चालक दुवैलाई सरकारले हदैसम्मको कारबाही गर्नुपर्छ।"
सरकारले घटेको मूल्यमा बिक्री नगर्ने र सेवा बन्द गर्ने पम्प सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिइरहेको भए पनि डडेल्धुरामा भने जिम्मेवार निकायको फितलो भूमिकाका कारण उपभोक्ता मारमा परेका छन्।