देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष चेतावनी जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनअनुसार असार १६, १७ र १८ गतेसम्म देशभर वर्षाको प्रभाव रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
आज (मंगलबार) देशभर अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
बुधबार देशभर मौसम पूर्णतया बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहनेछ।
यस्तै बिहीबार पनि देशभर पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरीको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, पहिरो, गेग्रान बहाव तथा नदी–खोलामा आकस्मिक बाढी आउने जोखिम उच्च रहेको छ। तराईका होचा भू-भागमा डुबान हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
नदी तथा खोलामा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा, सडक यात्रु तथा स्थानीय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण सडक यातायात, दैनिक जनजीवन तथा हवाई सेवासमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्नसमेत आग्रह गरिएको छ।