डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आफ्नो वर्तमान नेतृत्व कार्यकालको अन्तिम नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार गाउँपालिकाको २०औं अधिवेशनमा अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास निर्माणका बाँकी कामलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
उपाध्यक्ष निर्मला बोगटीसहित गाउँसभा सदस्य तथा कर्मचारी सहित सञ्चारकर्मीहरुको उपस्थितिमा प्रस्तुत उक्त कार्यक्रमले पालिका समग्र विकास र समृद्धिका लागि सडक सञ्जाल सहित भौतिक पुर्वाधार क्षेत्रको विकासको क्षेत्रलाइ विशेष जोड दिएको छ।
अध्यक्ष अवस्थीले आफ्नो नेतृत्वको अन्तिम वर्षलाई 'नतिजा दिने वर्ष' का रूपमा व्याख्या गर्दै पालिकाका सबै वडा कार्यालयहरूलाई बाह्रै महिना सवारी साधन चल्ने सडकले जोड्ने,सडक स्तरोन्नति लगायतको लक्ष्य पहिलो प्राथमिकतामा छ।
विगतमा सुरु भएर अधुरा सडक योजनाहरूलाई यसै आर्थिक वर्षभित्र अनिवार्य रूपमा सम्पन्न गर्न बजेटको उचित व्यवस्थापन गरिने उनले बताएका छन्। पुर्वाधार विकासलाइ आर्थिक र सामाजिक विकासको मेरुदण्डको रूपमा चित्रण गर्दै यस कार्य आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे।
कृषि क्षेत्रको उत्पादकत्व बढाउन पालिकाले आलु र भटमास खेतीमा 'उत्पादनमा आधारित अनुदान' प्रणाली लागू गर्ने भएको छ। कृषकले उत्पादन गरेका बालीलाई बजारसम्म पुर्याउन कृषि मार्गहरूको स्तरोन्नति, सिँचाइको व्यवस्था र संकलन केन्द्रहरूको स्थापना गर्ने योजनालाई उच्च महत्व दिइएको छ। उत्पादन र बजारको सहज पहुँचले मात्र कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने पालिकाको ठहर छ।
धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण,प्रचारप्रसार देखि स्वास्थ्य र शिक्षा क्षेत्रलाई सर्वसुलभ बनाउन पनि पालिकाले आवश्यक संरचनागत सुधारमा जोड दिएको छ। ग्रामीण क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक सहजता र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्ने विषय नीतिमा समावेश छ। त्यसैगरी, विद्यालयहरूमा प्रविधिमैत्री कक्षाकोठा र शैक्षिक सिकाइका लागि आवश्यक वातावरण निर्माण गर्ने बिषय अघि सारिएको छ।
आफ्नो कार्यकालको अन्तिम योजना प्रस्तुत गर्दै अध्यक्ष अवस्थीले भने, "सडक सञ्जाल र सेवाका लागि आवश्यक संरचनाको अभावमा विकासले गति लिन सक्दैन। मेरो नेतृत्वको यो अन्तिम वर्षमा विगतका अधुरा कामहरूलाई तार्किक निष्कर्षमा पुर्याउँदै जनताको जीवनशैली सहज बनाउने जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हो।"
यो नीति तथा कार्यक्रम अब बजेट प्रस्तुत सहित पारित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।