डडेल्धुरा -डडेल्धुराको अमरगढी नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि अघि सारेको योजना पुनः एकपटक विवादमा तानिएको छ।
नगरपालिकाको वडा नं. ६ स्थित गुनेगाड–छचोडा क्षेत्रमा निर्माण गर्न लागिएको आधुनिक डम्पिङ साइट (फोहोर व्यवस्थापन केन्द्र) विरुद्ध स्थानीयवासीहरू आन्दोलित बनेपछि सदरमुकामको फोहोर व्यवस्थापन कार्य थप जटिल मोडमा पुगेको छ।
नगरपालिकाले संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब ४ करोड रुपैयाँको लागतमा अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको हो। यसका लागि नगरपालिकाले करिब १४ रोपनी जग्गा १८ लाख रुपैयाँमा खरिद गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार गरिसकेको छ। ठेक्का प्रक्रिया अघि बढेको अवस्थामा स्थानीयको तीव्र विरोधले निर्माण कार्य ठप्प भएको छ।
स्थानीय बासिन्दाहरूले डम्पिङ साइट निर्माणस्थल आफ्नो बस्तीको नजिक रहेको, त्यहाँ खानेपानीका महत्त्वपूर्ण मुहानहरू रहेको र आसपासमा खेतीयोग्य जमिन रहेकाले वातावरणीय प्रदूषण र गम्भीर स्वास्थ्य जोखिम निम्तिने भन्दै विरोध जनाएका छन्। उनीहरूले नगरपालिकाले बिना विकल्प र स्थानीयको सहमतिबिना जबरजस्ती आयोजना अघि बढाउन खोजेको आरोप लगाएका छन्।
बुधबार नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डोजरसहितको टोली निर्माणस्थलमा पुगे पनि स्थानीयको कडा अवरोधका कारण काम सुरु हुन सकेन। प्रहरी र डोजर परिचालनको प्रयास भएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा ताला लगाउँदै नगरपालिकाविरुद्ध चर्को नाराबाजी गरेका छन्।
स्थानीयले आफूहरूको माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान लिएका छन्। साथै, नगरपालिकाले बल प्रयोग गरेर काम अघि बढाएमा नगरपालिकामै तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिएका छन्।
नगरपालिकाले प्राविधिक रूपमा उपयुक्त र स्थानीयले स्वीकार गर्ने खालको विकल्प खोज्नुपर्ने देखिन्छ। तत्काल समस्याको समाधान नखोजिए नगरपालिकाको ठूलो लगानीमा बन्न लागेको यो महत्त्वपूर्ण आयोजना असफल हुने जोखिम बढेको छ।