डडेल्धुरा -डडेल्धुराको आलिताल गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत अनाथ, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। स्थानीय युवा व्यवसायी मानबहादुर ओली (मनोज) ले आफ्नो ब्यक्तिगत सहयोगमा उक्त सामग्रीहरू वितरण गरेका हुन्।
गाउँपालिकाभित्रका करिब एक दर्जन विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो सहयोग अभियान उनले सफलतापूर्वक सम्पन्न गरेका छन । सहयोग कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक पर्ने कपी, कलम लगायतका शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गर्दै युवा व्यवसायी ओलीले 'शिक्षा नै उज्यालो भविष्यको आधार' भएको उल्लेख गरे। उनले भने, "कपी र कलम सामान्य वस्तु जस्तो देखिए तापनि, यी नै माध्यमबाट बालबालिकाहरूले आफ्नो भविष्य निर्माण गर्ने बलियो आधार तयार पार्छन्। सामाजिक उत्तरदायित्व बहन गर्दै मेरो तर्फबाट यो सानो प्रयास गरिएको हो।"
आगामी दिनहरूमा पनि समाजका आवश्यकतामा रहेका वर्ग र समुदायका बालबालिकाहरूको शिक्षाका लागि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे।
यस अभियानलाई सफल बनाउन सहयोग, समन्वय र सकारात्मक साथ दिनुहुने सम्पूर्ण विद्यालय परिवार, प्रधानाध्यापक, शिक्षक-शिक्षिका, अभिभावक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति ओलीले हार्दिक आभार समेत व्यक्त गरेका छन्।
आलिताल गाउँपालिका वडा नं ६ झरकाँडा घर भई हाल कैलालीको अत्तरियामा मोबाइल व्यवसाय गर्दै आएका ओलीको यस्ता सामाजिक कार्यहरु बिगतदेखि गर्दै आइरहेका छन उनको यो कार्यले स्थानीय स्तरमा निकै प्रशंसा बटुलेको छ। उनको यो उदाहरणीय पहलले अन्य युवाहरूलाई पनि समाजसेवामा लाग्न थप प्रेरणा दिने देखिन्छ।