डडेल्धुरा। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णय तत्काल खारेज गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय डडेल्धुरा अगाडि एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय आह्वानअनुसार देशभरका ७७ जिल्लासँगै डडेल्धुरामा पनि पत्रकारहरूको सहभागितामा धर्ना कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारले लागू गरेको मिडियाविरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा नागरिकको संवैधानिक सूचनाको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
धर्ना कार्यक्रम पश्चात् पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सरकारी विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय संविधान, प्रचलित कानुन तथा लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको बताए। यस्तो निर्णयले निजी सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने र स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप हुने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हकमाथि कुनै पनि प्रकारको अंकुश स्वीकार्य नहुने स्पष्ट गरेको छ।
महासंघले पत्रकारलाई समाचारका विषयमा अनावश्यक दबाब दिने, समाचारको स्रोत खुलाउन बाध्य पार्ने तथा सामग्री हटाउन लगाउने प्रवृत्तिप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र संविधानको भावना विपरीत रहेको जनाएको छ।
साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संविधानप्रदत्त अधिकारहरूको रक्षा र स्वतन्त्र सञ्चारमाध्यमको अस्तित्व जोगाउन आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले जनाएको छ।