डडेल्धुरा - डडेल्धुरामा सञ्चालित १६ औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री खड्काले खेलकुद क्षेत्रको विकासले नै युवाहरूको प्रतिभा पहिचान र प्रदेशको गौरव बढाउने बताउनुभयो। उहाँले विजयी खेलाडी तथा जिल्लाहरूलाई बधाई दिँदै आगामी राष्ट्रिय प्रतियोगिताका लागि शुभकामना समेत व्यक्त गर्नुभयो।
प्रतियोगिताको अन्तिम पदक तालिका अनुसार कैलाली जिल्ला अत्यधिक पदक जित्दै प्रथम हुन सफल भएको छ। कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कांस्यसहित कुल ५८ पदक जितेको छ।
त्यसैगरी, कञ्चनपुर जिल्ला १७ स्वर्ण, १३ रजत र १३ कांस्यसहित कुल ४३ पदकका साथ द्वितीय भएको छ भने डडेल्धुरा ६ स्वर्ण, ७ रजत र १७ कांस्यसहित कुल ३० पदक जित्दै तृतीय स्थान हासिल गर्न सफल भएको छ।
बैतडी जिल्लाले चौथो स्थान सुरक्षित गर्न सफल भयो। बैतडीले डडेल्धुरा बराबर नै ६ वटा स्वर्ण र ७ वटा रजत पदक जित्न सफल भएको थियो। तर, कांस्य पदकमा डडेल्धुराभन्दा पछि परेका कारण (बैतडीको १३ कांस्य र डडेल्धुराको १७ कांस्य)ले बैतडी चौथो स्थानमा सीमित हुन पुग्यो। बैतडीले कुल २६ वटा पदक आफ्नो पोल्टामा पार्यो।
यसैगरी दार्चुलाले प्रतियोगितामा पाँचौ स्थान हासिल गरेको छ। दार्चुलाका खेलाडीहरूले विभिन्न प्रतिस्पर्धाहरूबाट ३ वटा स्वर्ण, २ वटा रजत र ७ वटा कांस्य पदक जित्न सफल भए। दार्चुलाले प्रतियोगिताभर कुल १२ वटा पदक प्राप्त गर्यो।
प्रतियोगितामा बझाङ जिल्ला छैटौं स्थानमा रहन सफल भयो। बझाङले २ वटा स्वर्ण पदक जित्न सफल भयो भने १ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गर्यो। यसरी बझाङले कुल ९ वटा पदकमा आफ्नो नाम लेखायो। यस प्रतियोगितामा सुदूरपश्चिमका बाँकी तीन जिल्लाहरू बाजुरा, डोटी र अछामले स्वर्ण पदकको खाता खोल्न सकेनन्।
बाजुराले प्रतियोगितामा स्वर्ण पदक जित्न सकेन बाजुराले ११ वटा रजत र १५ वटा कांस्य पदक जित्न सफल भयो। कुल २६ वटा पदक सहित बाजुरा पदक तालिकाको सातौँ स्थानमा रह्यो।
डोटी जिल्लाले प्रतियोगिताभर ४ वटा रजत र १२ वटा कांस्य पदक जित्दै कुल १६ वटा पदकका साथ आठौँ स्थान प्राप्त गर्यो। अछाम जिल्ला पदक तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा रहन पुग्यो। अछामले प्रतियोगितामा ४ वटा रजत र ८ वटा कांस्य पदक गरी कुल १२ वटा पदक हासिल गर्यो।
प्रदेशबाट छनौट भएका विभिन्न विधाका खेलाडिहरुले राष्ट्रिय प्रतियोगितामा भाग लिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाइ ट्रफी,मेडल प्रमाणपत्र तथा नगद पुरस्कार समेत प्रदान गरिएको थियो। यस संगै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाइ समेत सम्मान तथा पुरस्कृत गरिएको थियो।
गर्मियाममा समेत एकदमै उपयुक्त हावापानी रहेको डडेल्धुरामा पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरिय रास्ट्रपति रनिङ शिल्ड जेठ १४ गते देखि शुरु भइ आज १६ गते सम्पन्न भएको हो भने प्रतियोगिता अवधिभर डडेल्धुरा सदरमुकाममा निक्कै चहलपहल र खेलावधिभर दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो।