डडेल्धुरा - सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि डडेल्धुरामा सुरु भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको १६ औँ संस्करण आज बिहानदेखि औपचारिक रूपमा सुरु भएको हो। खेलकुदको विकास र गाउँ-गाउँमा रहेका प्रतिभावान खेलाडीहरूलाई अगाडि बढाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।
विगतका वर्षहरूमा सुदूरपश्चिम प्रदेशस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा मात्रै आयोजना हुँदै आएको थियो। पर्याप्त खेल पूर्वाधार र सुविधाको कमी देखाउँदै सधैँ तराईमै खुम्चिने गरेको यो प्रतियोगिता पहिलोपटक पहाडी जिल्ला डडेल्धुरामा आयोजना गरिएको हो। यसले गर्दा पहाडी क्षेत्रका खेलप्रेमी र स्थानीय उत्साहित भएका छन्।
यस पटकको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै नौवटै जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्लाबाट आएका करिब ९०० जना खेलाडीहरूले सहभागी छन। आगामी शनिबारसम्म जारी रहने यस प्रतियोगितामा जम्मा छ वटा खेलहरू समावेश गरिएका छन्। जसअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डीका साथै मार्सल आर्ट्सतर्फ उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा खेलाडीहरूका बिचमा कडा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन आज एक विशेष समारोहका बिच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै मन्त्री खड्काले खेलकुदको विकासका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो। उहाँले तराईमा मात्रै सिमित रहने खेलकुदलाई पहाडमा ल्याउन पाउँनु खुसीको कुरा भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले लुकेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूको आवास, भोजन, सुरक्षा तथा अन्य प्राविधिक कुराहरूको सम्पूर्ण व्यवस्थापन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् आफैले गरेको आयोजकले जनाएको छ।
📚 शिक्षा विकास तथा समन्वय इकाई, डडेल्धुराको संदेश
प्रत्येक बालबालिकालाई नियमित विद्यालय पठाऔँ र सिकाइमा निरन्तरता दिऔँ।
✅ विद्यालयमा अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक संस्कारको विकास गरौँ।
✅ बालविवाह, बालश्रम तथा विद्यालय छोड्ने प्रवृत्तिको अन्त्यका लागि सबैले सहकार्य गरौँ।
✅ विद्यालयलाई सुरक्षित, समावेशी, स्वच्छ र बालमैत्री बनाऔँ।
✅ प्रविधिमैत्री तथा सीपमूलक शिक्षाको विकासमा जोड दिऔँ।
✅ अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यबाट शैक्षिक गुणस्तर अभिवृद्धि गरौँ।
✅ सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गरौँ र कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिऔँ।