डडेल्धुरा, १० जेठ - डोटीको जोरायल गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल डडेल्धुराको आलीताल गाउँपालिका वडा नं. २ खोलेखर्क बस्ने २१ वर्षीया विपना थापामगर गम्भीर बिरामी परेकी छन्। कलिलो उमेरमै मृगौला र मुटु सम्बन्धी जटिल रोगबाट पीडित भएकी उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ।
गएको जेठ ४ गते एक्कासी अचेत भएपछि विपनालाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालले उनको मृगौला लगायत शरीरका अन्य अंगहरूमा गम्भीर समस्या देखिएको भन्दै थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा प्रेषित (रिफर) गरेको थियो। तर, त्यहाँ सम्बन्धित चिकित्सक (डाक्टर) को अभाव भएपछि उनलाई कैलाली हस्पिटल प्रालिमा भर्ना गरी सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको छ।
अस्पतालको रिपोर्ट अनुसार विपनाको एउटा मृगौला पूर्ण रूपमा खराब भइसकेको छ भने अर्को मृगौलामा समेत संक्रमण (Infection) देखिएको छ। यसका साथै उनलाई मुटु, पिसाबनली, आन्द्रा एवं बाथरोगको समेत जटिल समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्।
अस्पतालले उनलाई थप र भरपर्दो उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल लैजान सल्लाह दिएको छ। तर, आर्थिक अवस्था अत्यन्तै दयनीय भएका कारण परिवारलाई उनलाई काठमाडौँ लैजान कठिनाइ भइरहेको छ।
बिरामी कुरुवाका रूपमा रहेका उनका दाजु महेन्द्र थापामगर, श्रीमान सन्देश थापामगर र बुवा रमेश थापामगर (भावुक) ले आँसु बगाउँदै भन्नुभयो:
"अस्पतालले थप उपचारका लागि काठमाडौँको वीर अस्पताल लैजान भनिरहेको छ। तर, हामीसँग उपचार गर्ने पैसा छैन। यस्तो अवस्थामा कसरी बिरामीको ज्यान जोगाउने? हामी निकै ठूलो संकटमा छौँ।"
पीडित विपनाका श्रीमान् मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। विपनाका ५ महिनाका एक छोरा र ५ वर्षकी एक छोरी छन्। आमा अस्पतालको शय्यामा मृत्युसँग लडिरहँदा साना बालबच्चाको बिचल्ली भएको छ।
अहिलेसम्म उनको उपचार खर्च दाजु महेन्द्र र बुवा रमेश थापामगरले ऋणधन गरेर बेहोरिरहेका छन्। तर, अबको थप उपचार खर्च जुटाउन परिवारको सामर्थ्यभन्दा बाहिर भइसकेको छ।
कलिलै उमेरमा दुई सन्तानकी आमा विपनाको जीवन रक्षाका लागि परिवारले देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा मनकारी सहयोगी संस्थाहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ। सहयोगका लागि नेपाल तथा भारत दुवै देशबाट रकम पठाउन मिल्ने बैंकिङ विवरण र क्युआर कोड (QR Code) समेत सार्वजनिक गरिएको छ।
सहयोगको लागि मोबाईल नम्बर 9864766639 क्युआर यहाँ छ नेपाल र भारतका लागि अलगअलग 
