जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार आजदेखि देशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष चेतावनी जारी गरेको छ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै आज वैशाख १६ गते बुधबार साँझ ५:४५ बजेदेखि सुरु हुने यो मौसमी प्रणाली भोलि १७ गते बिहान ७:४५ बजेसम्म सक्रिय रहने जानकारी दिएको छ।
विशेषगरी कोशी प्रदेशको मोरङ, मधेश प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटी लगायत आसपासका जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। यसका साथै मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा हुने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्दै जाने अनुमान गरिएको छ।
तीव्र हावाहुरीका कारण रूख र कमजोर संरचनाहरू ढल्ने, घरको छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तो समयमा सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्याल र ढोकाहरू बलियो गरी बन्द गर्न र जस्तापाताका छानाहरू कमजोर भएमा तिनलाई थप सुरक्षित बनाउन सरकारले सुझाव दिएको छ।
त्यस्तै, हावाहुरीको समयमा बाहिर आगो नबाल्न, बिजुलीका तार र पोलहरूबाट टाढै रहन र उडेर आउने सामानबाट जोगिन चनाखो रहन समेत प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी नियमित पूर्वानुमान र प्राधिकरणका सूचनाहरूलाई निरन्तर पछ्याउँदै आवश्यक सावधानी अपनाउन प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
