डडेल्धुरा: निर्माण सामग्रीमा भएको अत्याधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न नसकिने अवस्था आएको भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले जिल्लाभर ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण कार्य बन्द) घोषणा गरेको छ। यस निर्णयले जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका अधिकांश योजनाहरू प्रभावित हुने देखिएको छ।
संघले सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्माण क्षेत्रलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। व्यवसायीहरूका अनुसार पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा लागत व्यवस्थापन गर्न असम्भवजस्तै भएको छ।
ज्ञापनपत्रमा विशेषगरी मध्यपूर्वमा जारी युद्धको प्रभावले इन्धनको मूल्यमा भएको वृद्धि नै निर्माण सामग्री महँगिनुको मुख्य कारण भएको उल्लेख गरिएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्यवृद्धिसँगै सिमेन्ट र डण्डी जस्ता अत्यावश्यक सामग्रीको मूल्य ४० देखि १२० प्रतिशतसम्म बढेको व्यवसायीहरूको दाबी छ। यसले निर्माण आयोजनाहरूको लागत अनुमानभन्दा धेरै माथि पुग्दा ठेक्का सम्झौताअनुसार काम अघि बढाउन कठिन भएको संघले जनाएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मूल्य सूचकाङ्क र वास्तविक बजार मूल्यबीच ठूलो अन्तर देखिएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। बजारमा मूल्य बढ्दो क्रममा रहे पनि आधिकारिक सूचकाङ्कले घटेको देखाउने हुँदा मूल्य समायोजन गर्दा व्यवसायीहरू झन् घाटामा पर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
संघले हालको कानुनी प्रावधानले मूल्य समायोजन गर्न पर्याप्त आधार नदिएको भन्दै तत्काल ‘मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ। यस्तो मार्गनिर्देशन बिना निर्माण व्यवसायलाई निरन्तरता दिन असम्भव भएको उनीहरूको ठहर छ।
संघका अध्यक्ष राम बहादुर विष्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मूल्यवृद्धि समायोजन नभएसम्म ‘Construction Holiday’ लागू रहने स्पष्ट पारिएको छ। संघले करिब २०० भन्दा बढी निर्माण व्यवसायीहरू आबद्ध रहेको दाबी गर्दै यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर यस्तो निर्णय लिनु परेको जनाएको छ।
यो कदमसँगै सडक, भवन, खानेपानी लगायतका विभिन्न पूर्वाधार आयोजना प्रभावित हुने निश्चित जस्तै देखिएको छ। स्थानीय तहदेखि संघीय सरकारसम्मका विकास योजनाहरू ठप्प हुने जोखिम बढेको छ भने यसले समग्र विकास गतिमा समेत असर पार्ने संकेत देखिएको छ।
व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको फेसबुक पेजबाट व्यबसायिहरुलाइ लक्षित गरि निर्माण सम्बन्धि अनावश्यक स्टाटस लेख्ने र डिलिट गर्ने गरेकोमा दु:ख व्यक्त गरे। जसले गर्दा समाजमा निर्माणव्यबसायिहरु प्रती समाजको नकारात्मक प्रभाव पर्ने भएकाले आवश्यक परिपत्र,छलफल तथा बैधानिक बाटो अपनाउन ध्यानाकर्षण गराएका थिए ।
