बालेन्द्र शाह नेतृत्वको प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अधिकांश मन्त्रीहरूले आफ्नो आम्दानीको स्रोत व्यवसाय, रोजगारी, पैतृक सम्पत्ति तथा स्वआर्जनलाई उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहको बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ। उनले फेसबुक, युट्युब, टिकटक, स्पटिफाई र आईट्युन्सबाट आम्दानी भएको बताएका छन्। साथै उनका सामाजिक सञ्जालमा ठूलो संख्यामा ‘फलोअर्स’ रहेको पनि विवरणमा समावेश गरिएको छ। उनकी पत्नी सविना काफ्लेका नाममा १९० तोला सुन रहेको छ भने काठमाडौं–९, धनुषा र महोत्तरीमा पारिवारिक जग्गा रहेको जनाइएको छ।
त्यसैगरी सस्मित पोखरेल (शिक्षा तथा खेलकुदमन्त्री) को काठमाडौंमा दुईवटा घर रहेका छन्, जसको मूल्य ४ देखि ५ करोड रुपैयाँसम्म रहेको छ। मोरङ लगायत पाँच स्थानमा ११ करोड रुपैयाँ बराबरको जग्गा, २५ तोला सुन, १०० तोला चाँदी र १ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको विवरणमा उल्लेख छ।
खडकराज पौडेल (संस्कृति, पर्यटनमन्त्री) सँग पोखरामा २ करोड ६० लाख रुपैयाँमा खरिद गरिएको घर, ११ तोला सुन, ५ तोला चाँदी, २० लाख रुपैयाँ बचत र १७ हजार कित्ता शेयर रहेको छ। साथै उनले १ करोड ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख छ।
विक्रम तिमिल्सिना (सूचना तथा सञ्चार प्रविधिमन्त्री) सँग काठमाडौंमा घर र घडेरी, ४ तोला सुन, १० तोला चाँदी र करिब १० लाख रुपैयाँ बचत रहेको छ भने करिब ५० लाख रुपैयाँ लगानी गरिएको जनाइएको छ।
गीता चौधरी (कृषि तथा वनमन्त्री) सँग ५ तोला सुन, १०० तोला चाँदी, १ लाख २५ हजार रुपैयाँ बचत र २ लाख ५० हजार रुपैयाँ बराबरको शेयर रहेको छ।
गौरीकुमारी यादव (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री) सँग काठमाडौंमा घर तथा तीन स्थानमा जग्गा, १८० तोला सुन, २ किलो चाँदी, हिराका दुई सेट, १० लाख रुपैयाँ बचत, १ करोड ६१ लाख रुपैयाँ ऋण तथा ३ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर रहेको छ।
रामजी यादव (श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) सँग ८० तोला सुन, १५० तोला चाँदी र ७० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ।