डडेल्धुरा —डडेल्धुरामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना डडेल्धुरा र कृषि ज्ञान केन्द्र डडेल्धुराको संयुक्त आयोजनामा माटो परीक्षण शिविर तथा माटो परीक्षणको अद्यावधिक कार्यक्रम सुरु गरिएको छ।
माटो तथा मल परीक्षण प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरको प्राविधिक सहजीकरणमा सञ्चालन भएको उक्त कार्यक्रम आज आइतबारदेखि सुरु भई तीन दिनसम्म चल्नेछ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यक्रम डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतका अनुसार डडेल्धुरा र डोटी जिल्लाका विभिन्न कृषि जोनहरूमा माटो नमुना संकलन गरिएको छ। डडेल्धुरामा आलु सुपर जोन र भटमास जोन तथा डोटीमा तरकारी जोन, सुन्तला जात फलफूल जोन र अदुवा–बेसार जोन समेटिएका छन्। यी जोनअन्तर्गत करिब १४ वटा पालिकाका विभिन्न पकेट क्षेत्रबाट प्राविधिकहरूले जीपीएस लोकेशनसहित माटोको नमुना संकलन गरेका छन्।
संकलित नमुनाको परीक्षणबाट माटोमा रहेका मुख्य पोषक तत्वहरू—नाइट्रोजन, फस्फोरस, पोटास, साथै माटोको स्तर, प्राङ्गारिक पदार्थ र बनोट सम्बन्धी विस्तृत जानकारी प्राप्त गरिनेछ।
परीक्षण नतिजाका आधारमा माटो सुधारका कार्यक्रमसमेत अघि बढाइने प्रमुख बस्नेतले बताए । अम्लीय माटो भएका क्षेत्रमा कृषि चून, क्षारीय माटो भएका क्षेत्रमा जिप्सम प्रयोग गरिनेछ भने प्राङ्गारिक पदार्थ कम भएका स्थानमा प्राङ्गारिक मल, गोठे मल र गड्यौले मल वितरण गरिने योजना रहेको जनाइएको छ।
यसका साथै, परीक्षणबाट प्राप्त नतिजालाई नेपाल कृषि अनुसन्धान परिषदमा पठाइ ‘स्वाइल म्याप’ मा अद्यावधिक गरिनेछ। त्यसपछि किसानहरूले अनलाइन माध्यमबाट आफ्नै क्षेत्रको माटोको अवस्था सजिलै थाहा पाउन सक्नेछन्।
यस कार्यक्रमले किसानहरूलाई उपयुक्त बाली छनोट गर्न, उत्पादन वृद्धि गर्न तथा कृषि क्षेत्रलाई वैज्ञानिक र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख बस्नेतको भनाइ छ।