डडेल्धुरा — देशको सुरक्षा व्यवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराले आफ्नो १९ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुमले मनाएको छ।
जिल्ला सदरमुकामको सुन्दरपुर स्थित गुल्म परिसरमा आयोजित कार्यक्रममा डडेल्धुरा स्थित उक्त गुल्ममा प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डियसपी) प्रकाश चन्द्र भट्टले आफ्नो स्थापना दिवसको अवसरमा संस्थागत उपलब्धि, कार्यसम्पादन तथा भावी योजनाबारे जानकारी गराएका थिय।
कार्यक्रममा सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश बैजनाथ बाहिनी मुख्यालय अत्तरिया का निमित्त प्रमुख दिग्विजय सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी, डडेल्धुरास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
डडेल्धुरामा १ गुल्म र ५ वटा बोर्डर पोस्टमार्फत सेवा दिँदै आएको नम्बर ५२ गुल्मले सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
स्थापना दिवसको अवसरमा उक्त गुल्म सहित बोर्डर पोस्ट अन्तर्गत विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सशस्त्र प्रहरी बलले राष्ट्रको सुरक्षा, शान्ति स्थापना तथा नागरिक सेवामा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।