डडेल्धुरा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मान सिंह मालले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन्। निर्वाचन आयोगको निर्देशिका अनुसार उनले उम्मेदवारी दिएपछि चुनावी अभियानका क्रममा भएको सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेका हुन्।
पेश गरिएको विवरण अनुसार मालले चुनावी अभियानका विभिन्न गतिविधिमा गरी कुल २५ लाख ७ हजार १ सय ४८ रुपैयाँ खर्च गरेका छन्। उक्त खर्चमा उम्मेदवार मनोनयन, सवारी साधन भाडा, प्रचार–प्रसार, कार्यालय सञ्चालन, सामाजिक सञ्जाल व्यवस्थापन, मतदाता नामावली खरिद तथा प्रचारप्रसार सामग्री छपाइ लगायतका शीर्षक समावेश गरिएको छ।
विवरण अनुसार सवारी साधन भाडा तथा इन्धनमा ४ लाख ७७ हजार रुपैयाँ, वडा स्तरीय प्रचार–प्रसार तथा कार्यकर्ता प्रशिक्षणमा ७ लाख १२ हजार २०० रुपैयाँ, प्रचार–प्रसार सामग्री छपाइमा ४ लाख ६५ हजार रुपैयाँ, कार्यालय स्थापना तथा सञ्चालनमा १ लाख ६० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
त्यस्तै जिल्ला सचिवालय सञ्चालन, मतदाता नामावली प्रिन्ट, सभा–गोष्ठी तथा कार्यकर्ता व्यवस्थापन लगायतका गतिविधिमा पनि रकम खर्च गरिएको जनाइएको छ।
मान सिंह मालले निर्वाचन ऐन तथा निर्वाचन आयोगले तोकेको आचारसंहिता बमोजिम खर्च विवरण पेश गरिएको बताएका छन्। उनले निर्वाचन पारदर्शी बनाउन खर्च विवरण सार्वजनिक गर्नु आवश्यक भएको उल्लेख गरेका छन्।
उक्त खर्च विवरणसँगै बैंक कारोबारको विवरण समेत संलग्न गरिएको छ। मालको आर्थिक कारोबार ग्लोबल आईएमई बैंक, डडेल्धुरा शाखामार्फत भएको उल्लेख गरिएको छ।

