डडेल्धुरा, आइतबार — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारी अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले निर्वाचन सामग्री हस्तान्तरण प्रक्रिया सुरु गरेको छ। निर्वाचनको पूर्वतयारीस्वरूप आइतबारदेखि जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक सामग्री बुझाउन थालिएको हो।
जिल्लाको भित्रीमधेस क्षेत्रअन्तर्गत पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिका का मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षामा खटिएका कर्मचारीहरूले निर्वाचन सामग्री बुझेका छन्। मतपेटिका, मतपत्रलगायतका सामग्री समयमै मतदान केन्द्रसम्म पुग्ने गरी व्यवस्थापन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन्। जिल्लाभर १०४ मतदानस्थल र १४२ मतदान केन्द्र तोकिएका छन् भने हाल जिल्लामा १ हजार ६८० अस्थायी मतदाता रहेका छन्। सबै मतदान केन्द्रमा आवश्यक भौतिक तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ।
आगामी निर्वाचनका लागि डडेल्धुरामा तीन स्वतन्त्र उम्मेदवारसहित १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ।
निर्वाचन कार्यालयले बाँकी मतदानस्थलका लागि पनि आज र भोलिसम्म निर्वाचन सामग्री वितरण गरिने जनाएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन संयन्त्रबीच आवश्यक समन्वय पूरा भइसकेको कार्यालयले स्पष्ट पारेको छ।