डडेल्धुरा। प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब ११ दिन मात्र बाँकी रहँदा यसपटक डडेल्धुराको चुनावी राजनीतिक माहोल दिनप्रतिदिन रोचक र तातिँदै गएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रचारप्रसार को तरिकापनी फेरिएको छ।यसपटक उम्मेदवारहरु जनताको घरदैलो अभियान, व्यक्तिगत भेटघाट र सानासाना समूहसँगको अन्तरसंवाद र छलफमा बढी केन्द्रित देखिएका छन्। मतदातासँग प्रत्यक्ष संवाद गरेर आफ्ना एजेन्डा राख्ने र विश्वास जित्ने प्रयास सबै उम्मेदवारको साझा रणनीति बनेको छ।
यसपटक डडेल्धुरामा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबीच नै बढी प्रतिस्पर्धा हुने आकलन गरिएको छ। २०४८ साल यताका सबै प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्दै आएको काँग्रेसको पकड यसपटक चुनौतीमा परेको विश्लेषकहरूको बुझाइ छ, जसका कारण चुनावी प्रतिस्पर्धा अघिल्ला निर्वाचनभन्दा फरक र रोचक बनेको छ।
नेपाली काँग्रेसबाट उम्मेदवार बनेका नैनसिंह महरले पार्टीको पुरानो संगठन, स्थानीय तहमा रहेको प्रभाव र विकासका एजेन्डालाई आधार बनाएर पुनः जित सुनिश्चित हुने दाबी गरिरहेका छन्। यता पूर्व माओवादी केन्द्र, नेकपा समाजवादीलगायत दलहरू एकताबद्ध भएर बनेको नेकपाबाट उम्मेदवार रहेका मानसिंह मालले यसपटकको निर्वाचन परिणाम फेरिने दाबी गरेका छन्।
विशेषगरी यसअघि भएका हरेक निर्वाचनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा टक्कर दिँदै दोस्रो हुँदै आएको, स्थानीय तहहरूमा झण्डै काँग्रेसकै हाराहारीमा उपस्थिति जनाउनुले, र यसपटक काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा नरहेकाले काँग्रेस कमजोर हुने र आफूहरूका लागि जित अझै सहज भएको नेकपाको ठम्याइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशभर देखिएको परिवर्तनको चाहनालाई डडेल्धुरामा प्रतिबिम्बित गर्ने दाबी गरेको छ। २०७९ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भइसकेका डा. ताराप्रसाद जोशी यसपटक प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। रास्वपाले पारदर्शिता, परिणाममुखी राजनीति र पुराना दलको विकल्पको नारालाई मुख्य आधार बनाउँदै मतदाताबाट उत्साहजनक समर्थन पाइरहेको दाबी गरेको छ।
नेकपा एमालेले पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवारका रूपमा अघि सारेको छ। यद्यपि जिल्लामा पछिल्ला स्थानीय तथा प्रदेश तहका निर्वाचनमा प्रमुख पदमा सफलता नपाएको अवस्थाले एमालेको प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको विश्लेषण गरिन्छ। तर उक्त पार्टीले अन्तिम समयमा मतपरिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिरहेको छ।
घोषणापत्र र सार्वजनिक भनाइहरू हेर्दा काँग्रेसले विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवालाई जोड दिएको छ भने नेकपाले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उत्पादनमुखी अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाएको छ। रास्वपाले पारदर्शी शासन, डिजिटल सेवा र प्रणालीगत सुधारको कुरा अघि सारेको छ भने एमालेले पूर्वाधार, कृषि आधुनिकीकरण र आर्थिक स्थायित्वलाई प्राथमिकतामा राखेको देखिन्छ।
यसैगरी जेन्जी आन्दोलनको मर्म र भावना अनुसार देशमा परिवर्तन आवश्यक रहेको भन्दै जेन्जीकै मुद्दा बोकेर अगाडि बढेको दाबी गर्ने स्वतन्त्र उम्मेदवार गौरव ऐर पनि आक्रामक रूपमा प्रचारप्रसारमा केन्द्रित रहेका छन्।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डडेल्धुरामा यसपटक दल र स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। १०४ मतदानस्थल र १४१ मतदान केन्द्रमार्फत ९३ हजार ४०३ मतदाताले मतदान गर्नेछन्। समग्रमा यसपटकको निर्वाचन परिणाम घरदैलो अभियानको प्रभाव, उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय मुद्दाप्रति देखाएको प्रतिबद्धता र मतदातामा देखिएको परिवर्तनको चाहनाले निर्धारण गर्ने विश्लेषण गरिएको छ। यही कारण डडेल्धुराको चुनाव यसपटक झनै चासो र प्रतीक्षाको विषय बनेको छ।
.png)