डडेल्धुरा: आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको शैदान्तिक र व्यवहारिक पालना अपरिहार्य रहेको निष्कर्षसहित डडेल्धुरामा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ।
जिल्ला आचार अनुगमन समिति डडेल्धुराको आयोजना र लुनिभा वालसरोकार समिती डडेल्धुरा को सहयोगमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अम्बर बहादुर ओली ले राजनीतिक दल, उम्मेदवार, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा सञ्चारमाध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता का प्रमुख प्रावधानहरू प्रस्तुत गर्दै आचारसंहिता उल्लंघनले लोकतान्त्रिक प्रक्रियामाथि नकारात्मक असर पार्ने भएकाले आचारसंहिता कागजमा सीमित नभई व्यवहारमै लागू हुनुपर्नेमा जोड दिए।
शिक्षा तथा बालबालिका प्रयोगसम्बन्धी लुनिभा बाल सरोकार प्रमुख धर्मसिंह ऐर ले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग बालअधिकारविपरीत हुने कुरा उल्लेख गरे। अधिवक्ता युवराज जोशी ले बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गर्न कानुनी रूपमा निषेध रहेको प्रष्ट पार्दै उल्लंघन भए कानुनी कारबाहीको दायरा बारे स्पष्ट गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइराला ले चुनाव अप्रत्यक्ष प्रचारप्रसारभन्दा खुला र प्रत्यक्ष प्रचारप्रसार लोकतान्त्रिक मर्यादाअनुकूल हुने धारणा राखे। उनले सबै पक्षलाई नियमभित्र रहेर प्रतिस्पर्धा गर्न आग्रह गरे।
मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइराला ले डडेल्धुरामा हालसम्म आचारसंहिता उल्लंघनका घटना न्यून रहेको जानकारी दिँदै निर्वाचन प्रचारप्रसारमा मितव्ययिता र खर्च नियन्त्रण सकारात्मक रूपमा देखिएको बताए।
अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, दलका तथा स्वतन्त्र उम्मेदवार, सञ्चारकर्मी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आचारसंहिता पालना नै विश्वसनीय निर्वाचनको आधार भएकोमा एकमत व्यक्त गर्दै एकाअर्कासँग सहकार्य गर्दै चुनावमा भाग लिन अनुरोध गरे।